काठमाडौंमा भारतीय दूतावासको गाडी जलाइयो

indian carकाठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भारतीय दूतावासको गाडी जलाएको छ ।

शनिबार बिहान लाजिम्पाटमा विप्लव माओवादीका कार्यकर्ताले भारतीय दूतावासको गाडीमा आगो लगाएका हुन् । विप्लव माओवादीले आफ्ना कार्यकर्ताले भारतीय नाकाबन्दीको विरोधमा २२ सीडी १७ नम्बरको गाडीमा आगजनी गरेको बताएको छ ।

आगजनी गरिएको गाडीको सिसा समेत फुटाइएको छ । आगो लाग्दा गाडीको भित्री भाग पूर्ण रुपले जलेको छ ।

विप्लव माओवादीले गाडीमा आगजनी पार्टीले गरेको दाबी गरेपनि प्रहरीले भने तार सट भएर आगो लागेको जनाएको छ । प्रहरीले तत्काल आगो नियन्त्रणमा लिएकाले गाडी पूर्ण रुपले जल्न पाएन ।

भारतीय नाकाबन्दीको विरोधमा विप्लव माओवादीले आइतबार बन्द आह्वान गरेको छ । बन्दको अघिल्लो दिन भारतीय दूतावासको गाडीमा विरोध स्वरुप आगजनी गरेको विप्लव माओवादीका एक नेताले जानकारी दिए ।