काठमाडौं- नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले पहाड र मधेस अलग गरेर प्रदेश निर्माण हुन नसक्ने बताएका छन् ।
एमाले सुनवल नगर कमिटीको प्रथम नगर अधिवेशनको आइतबार उदघाटन गर्दै उनले तराईमा दुई प्रदेश बने पनि त्यो पहाडसहितको हुने बताए । एमाले जातीय राज्य र पहाड अलग हुने गरी निर्माण हुने प्रदेशको पक्षमा नरहेको स्पष्ट पार्दै उनले सीमाङ्कनमा आफ्नो पार्टी लचिलो भएको स्पष्ट पारे ।
राजनीतिक सङ्क्रमणको २० वर्षमा आएको नेपालको संविधान भारतको भन्दा अग्रगामी भएको उनको जिकिर थियो । संविधान निर्माणसँगै आन्तरिक र बाह्य चुनौती खेप्नुपरेको छ भन्दै नेता ज्ञवालीले भारतको व्यवहार हेपाहा र अलोकतान्त्रिक भएको बताए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् सांसद वैजनाथ चौधरीले तराई मधेसमा भएको आन्दोलन जनताको आन्दोलन नभएको बताउँदै तराईका २० जिल्लामा १२ सिट जित्नेले यहाँका सम्पूर्ण बासिन्दाको नेतृत्व गर्न नसक्ने बताए ।






