कस्ता छन् उत्तरी नाका ?

काठमाण्डाै २४ कार्तिक ।  नाकाबन्दीले देश अस्तव्यस्त भएपछि आधारभूत आवश्यकताका वस्तु आयात गर्न भारतको विकल्पबारे अध्ययन/छलफल बढेका छन् । सरकारले उत्तरी छिमेकी चीनबाट इन्धनलगायत अत्यावश्यक वस्तु ल्याउने समझदारी गर्न थालेको छ । इन्धन आयातबारे दुई देशका आयल कर्पोरेसनबीच सम्झौता भएको छ । राहतस्वरूप चीनले अनुदान दिएको पेट्रोलियम पदार्थ रसुवागढी नाका भएर भित्रिइरहेको छ । व्यावसायिक इन्धनसमेत आउने क्रममा छ । यही क्रममा धेरैलाई चासो छ– चीनबाट सामान ल्याएर हाम्रो आवश्यकता पूरा गर्न सकिन्छ कि सकिन्न ? कस्ता अवस्थामा छन् उत्तरतिरका नाकाहरू ? तिनलाई पूर्ण सुचारु गर्न के गर्नुपर्छ ?

सम्भावनाको खानी तातोपानी
भूकम्पपछि यो तातोपानी खासा नाका बन्द छ । राजधानीबाट १ सय १४ किलोमिटर टाढा रहेको तातोपानी नाकाबाट सबैभन्दा बढी तयारी कपडा आयात हुने गथ्र्यो । खाद्य वस्तुमा स्याउ, लसुन, प्याज र अदुवा भित्रिन्थ्यो । यो नाकाबाट खाद्यान्न भने आउँदैन । सीमा क्षेत्रका तिब्बतीहरू नै नेपालबाट खाद्यान्न लगेर गुजारा चलाउँछन् ।

चलेको अवस्थामा यहाँबाट पेट्रोलियम पदार्थ र अन्य व्यापारिक सामान ल्याउन सकिने भौगोलिक अवस्था छ । प्रशासनिक प्रक्रिया पूरा गर्दा चीनका विभिन्न सहरबाट व्यापारिक सामान नेपाल भित्रिन १५ देखि २५ दिन लाग्ने गथ्र्यो । यो नाका तिब्बतसँग जोडिएको भए पनि उपभोग्य वस्तुहरू भने धेरैजसो चीनको ठूला सहरबाट आउने गर्छन् । सीमा क्षेत्र खासादेखि नेलाम, सिगात्से हुँदै तिब्बतको राजधानी ल्हासासम्मको भूभागमा खाद्य वस्तु उत्पादन कम हुने गरेको छ । पुराना व्यवसायी शम्भु शेर्पाका अनुसार सिचुआन प्रदेशको छिन्दुमा खाद्यान्न उत्पादन हुने गर्छ । तिब्बतको सान्थुङबाट भने स्याउ आयात हुने गरेको छ । नेपालमा बर्सेनि ठूलो परिमाणमा स्याउ भित्रिने गरेको छ । छिन्दु बजार पुग्न ल्हासा पार गर्नुपर्छ । यो नाकाबाट बर्सेनि २० अर्ब बराबरको वस्तु आयात हुने गथ्र्यो ।

त्यसमध्ये झन्डै २५ प्रतिशत तयारी कपडा पथ्र्यो । सामान साटासाटको माध्यमबाट झन्डै ४ दशकअघि तातोपानी नाकाबाट सुरु भएको चीनसँगको व्यापार अहिले बैंकिङ प्रणालीमा आधारित छ । ४० को दशकपछि थोरथोरै परिमाणमा टेलिकटन कपडा आयात हुन थाल्यो । ०५५–५६ बाट व्यापारले तीव्रता पाएको थियो । खासाबाट नेलाम, सिगात्से हुँदै तिब्बतको राजधानी ल्हासा पुग्न सडक मार्गबाट झन्डै दुई दिन यात्रा गर्नुपर्छ । मितेरी पुलबाट खासा १० किमि छ । अरनिको राजमार्गको बाह्रबिसेसम्मको सडक कालोपत्रे छ ।
बाह्रबिसेबाट मितेरी पुलसम्मको २६ किमि सडक भने भूकम्पपछिको पहिरोले निकै क्षति पुर्‍याएको छ । दुई लेनको यो सडक दोहोरो गाडी सञ्चालन हुन सक्ने चालू अवस्थामा छ ।

विकल्प बनिसक्यो रसुवागढी संकट परेपछि विकल्प निकाल्न सकिन्छ भन्ने उदाहरण हो रसुवागढी नाका । ०७१/७२ मा सिन्धुपाल्चोकको जुरेमा पहिरो गएपछि रसुवागढी नाकाबाट त्यताबाट सामान भित्रेका थिए । चीनले गत वर्ष तिब्बतसँगको व्यापारलाई बेजिङसम्म पहुँच पुर्‍याउन रसुवागढी नाका सञ्चालनमा ल्याएको हो ।

भूकम्पले यो नाकामा क्षति पुगेपछि बन्द अवस्थामा थियो । फेरि गतिलो विकल्पको उदाहरण बन्दै यही मार्ग हुँदै चीनबाट पेट्रोलियम पदार्थ ल्याइएको छ । चीनबाट तयारी लुगाकपडा, जुत्ता, खेलौना, स्याउ, ब्ल्याङकेट, थर्मस, जिम्बु, इलोक्ट्रोनिक सामानहरू रेडियो, टीभी, डिभिडी, चकलेट, भेडाच्याङ्ग्रालगायत यही नाकाबाट ल्याउन थालिएको थियो । पुन: पूर्ण रूपमा सुचारु गर्ने हो भने नेपाललाई यसले भरपर्दो गरी टेवा दिन सक्छ ।

यहाँबाट मैदा, चाउचाउ, बिस्कुट, चुरोट, खुर्सानी, चिउरालगायत पैठारी हुन्छ । सरकारले चीनसित दोस्रो महत्त्वपूर्ण व्यापारिक नाका खोल्न १६ किलोमिटर स्याफ्रुबेंसी–रसुवागढी सडक निर्माण गरेको छ ।

रसुवागढी सीमाबाट २२ किलोमिटर दूरीमा चीनको केरुङ सहर छ । यो नाका खुलेपछि तातोपानीबाट भन्दा चिनियाँ सामान यहाँबाट रसुवा, नुवाकोट, धादिङ, काठमाडौं उपत्यकाका अतिरिक्त गल्छी हुँदै तराई र भारतसम्म लान सहज हुनेछ । चीनले सुक्खा बन्दरगाह निर्माण गर्ने भएको छ । चीनले रसुवागढीदेखि स्याफ्रु १६ किलोमिटर सडक स्तरोन्नति गरी दुई लेनको बनाउने भएको छ । साथै यसलाई अन्तर्राष्ट्रिय स्तरको नाका बनाउने र सुख्खा बन्दरगाह बनाउन सघाउने चीनले प्रतिबद्धता जनाइसकेको छ ।

चीनले प्रवेश पासमा कडाइ गर्दा व्यापारिक कारोबारमा समस्या परेको व्यवसायीहरू बताउँथे । द्विपक्षीय सम्झौता गरी त्यसलाई समेत सहज बनाउने हो भने यसको सम्भावना राम्रो छ ।

लामाबगर खोल्न सुरुङ मार्ग
तिब्बतको टिङ्ग्री सहरबाट तातोपानीभन्दा लामाबगर नाका आउन ७१ किलोमिटर नजिक छ । भूगोलको दृष्टिले पनि हाल सञ्चालनमा रहेका केरुङ र तातोपानीभन्दा यो नाकाको सडक सुरक्षित देखिन्छ ।

दोलखाका लप्चीबासी तिब्बतको फलेक भन्ने स्थानको बजारमा निर्भर छन् । लप्ची र फलेक सि मानाका बजार हुन् । अहिले लामाबगरमा छोटी भन्सार छ । लामा बगरमा सीमा प्रशासन, भन्सार, प्रहरीको संरचना छ । अहिले तिब्वततिर पहरा जंगल भीर पाखो छ ।

त्यहाँबाट तिब्बतका स्थानीयले सीमासम्म सडकको ट्रयाक खोलिसकेका छन् । तिब्बतको फलेकदेखि नेपालको लामाबगर जोड्न करिब ३० किमि सडक बनाउनुपर्छ ।

लामाबगर पुग्न सिंगटीसम्म २९ किमि डबल लेनको ग्रयाभलिङ सडक सञ्चालनमा छ । सिंगटी–तामाकोसी १५ किमि ट्रयाक खोल्न बाँकी छ । तामाकोसी बजारबाट सिन्धुलीसम्म ५५ किमि कालोपत्रे सडक छ । अब करिब ३० किलोमिटर सडक विस्तार गर्न सके नाका जोडिने र सामग्रीहरू यताउता गर्न सकिने देखिन्छ । नाका खोल्न ३ करोड रकम विनियोजन भएको छ । हाल लामाबगरदेखि सदरमुकाम चरिकोटसम्म ६८ किलोमिटर सडक निर्माण भइसकेको छ । चरिकोटबाट अरनिको राजमार्ग हुँदै काठमाडौं पुग्न १ सय ३३ किलोमिटर कालोपत्रे सडकमा यातायात चालू छ । लामाबगर नाकाबाट तिब्बत जोड्न सरकारले यसवर्ष ९ सय मिटर सुरुङ मार्ग निर्माण गर्ने भएको छ ।

गोरखालीको गुजारा तिब्बततिरै
चीनले गोरखासँगका दुई नाका सुचारु गरे पनि हिउँ पर्न थालेपछि बन्द हुने गरेका छन् । सामागाउँ र छेकम्पार जोड्ने नाका ५ हजारभन्दा बढी उचाइमा रहेकाले हिउँदमा आउजाउ गर्न सकिँदैन । तर, नाका खुलेपछि सर्वसाधारण एकै पटक हिउँद भरिलाई पुग्ने सामग्री लिन तिब्बत जान्छन् ।

सदरमुकामबाट सिर्दिबास पुगेपछि दुई नाका पुग्ने बाटो छुट्टिन्छ । सदरमुकामबाट आरुघाटसम्म मात्रै सडक विस्तार भएकाले नाका पुग्न ७ दिनको पैदल यात्रा गर्नुपर्छ । सामागाउँ नाका लमजुङ र मनाङतर्फ पर्छ भने छेकम्पार नाका धादिङ र रसुवातर्फ अवस्थित छ ।

सामागाउँ सदरमुकामबाट ५२ कोस टाढा छ । छेकम्पार ५० कोस टाढा पर्छ । छेकम्पार नाकामा भने सदरमुकामतर्फ १२ किलोमिटर कच्ची सडक विस्तार भएको छ । अहिले तिब्बतको व्यापारिक केन्द्र पुगेर ल्याएको सामान न्यून जनसंख्या भएका ६ गाविसमा मात्रै पुग्छ । ती गाविसमा करिब १ हजार २ सय धुरी छन् । सडक बनेमा सदरमुकामबाट करिब १ सय ५० किलोमिटरमा तिब्बतको व्यापारिक केन्द्र जोडिन्छ । तिब्बतको व्यापारिक नाका जिल्लाबाट भारतीय नाकाभन्दा छोटो हुनेछ ।

प्राथमिकता दिनैपर्ने किमाथांका

नेपाल हुँदै चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरीको प्रस्तावित मार्ग भएको नाका हो किमाथांका । त्यसैले पूर्वाञ्चलवासीले केही वर्षयता त्यसलाई जोड दिँदै आएका छन् । नेपालमा उत्पादित वस्तु किमाथांका लैजान ७ दिनभन्दा बढी समय लाग्छ । यहाँका बासिन्दा तिब्बतका देन्दाङ र चाँगा बजारबाट खानेकुरा ल्याउँछन् । यहाँको दूरी २ सय मिटरमात्रै छ ।

देन्दाङ र चाँगाबाट ल्याएका सामान किमाथांका र चेपुवामा बिक्रीका लागि समेत राखिन्छ । यी गाविसबाट नजिक रहेका मकालु, पावाखोला, हटियाका स्थानीयले समेत चिनियाँ सामग्रीकै प्रयोग गर्छन् । चीनतर्फ भने सीमावर्ती गाउ‘ चाँगासम्म सडक निर्माण भइसकेको छ । त्यहॉसम्म फराकिलो ग्राभेल सडक, केन्द्रीय प्रसारणलाइनको बिजुली छ ।

किमाथांका नाकाबाट सदरमुकाम जोड्ने सडक खन्न सुरु गरिएको १ वर्ष भएको छ । चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग मानिएको ३ सय ७६ किलोमिटरको कोसी राजमार्ग खाँदबारी र किमाथांका दुवै तर्फबाट सडक खन्ने काम सुरु गरिएको छ । किमाथांकाबाट खाँदबारीको दूरी १ सय १३ किमि छ । यसलाई छिटो सक्ने हो भने धेरैथरि सामान सहज ढंगले नेपाल ल्याउन सकिन्छ ।

व्यवस्थित नाका कोरला
मुस्ताङ र चीन जोड्ने कोराला आवागमनको व्यवस्थित नाका हो । मुस्ताङको उपल्लो भेग लोमन्थाङ क्षेत्रको १४ हजार फिट उचाइमा अवस्थित कोरला पास विशाल मैदानी फाँटको बीचमा अवस्थित छ । दुवै देशको सजिलो र खुल्ला पठार क्षेत्रमा अवस्थित कोरलाबाट तिब्बतको दक्षिणपट्टि सबैभन्दा नजिकको सहर सागा ३० किलोमिटर मात्र टाढा छ । पोखराबाट कोरलासम्म दुई सय ७० र मुस्ताङ सदरमुकाम जोमसोमदेखि कोरलासम्म जम्मा १ सय १३ किलोमिटर कच्ची सडकले जोडिएको छ ।

उपल्लो मुस्ताङमा हिउँदमा हिउँ पर्ने र तल्लो म्याग्दी क्षेत्रमा बर्खामा बाढीपहिरोले सडक अवरुद्ध पार्ने यो रुटका समस्या हुन् । तर जोमसोमको फराकिलो फाँटमा सुख्खाबन्दरगाहा निर्माण गरी बर्खायाममा तिब्बतबाट ल्याइएको सामग्री स्टोर गर्न सकिन्छ । कोरला नाका पोखरा–बेनी–जोमसोम–लोमन्थाङ–कोरला सडक उत्तरको तिब्बत र दक्षिणको सुनौली जोड्ने सबैभन्दा नजिकको नाका हो । कोरलाबाट मानसरोवर तीर्थस्थलसमेत सबैभन्दा नजिकमा पर्छ ।

गाह्रो छैन ओलङ्चुङगोला
सडकको पहुँच नपुगेको र ढुवानीको माध्यम चौंरी मात्रै भएकाले नाकाबन्दीको वर्तमान अवस्थामा ओलाङचुङगोला नाकाबाट तत्कालै ठूलो राहत पुग्ने अवस्था छैन । तर सरकारले सडक विस्तारलाई प्राथमिकता दिए
एकै सिजनमा जोड्न सकिने प्राविधिकहरू बताउँछन् ।

तिब्बतले नेपाली सिमाना टिप्ताला भञ्ज्याङ नजिकैको आफ्नो भूभाग सिङमाग्याजेसम्मै ग्रयाभिलिङ सडक विस्तार गरेको छ । सिङमाग्याजेबाट मुख्य व्यापारिक केन्द्र रिउ बजार गाडीमा दुई घण्टामा पुगिन्छ । तिब्बती व्यापारीले नेपालीलाई बिक्री गरेका सामान सिङमाग्याजेसम्म आफैंले ढुवानी गरिदिन्छन् । नेपालीका लागि आवश्यक चामल, नुन, तेललगायत उपभोग्य वस्तु रिउ बजारबाटै ल्याइन्छ । सीमा क्षेत्रको तीन गाउँमा तिब्बती सामान प्रयोग गरिन्छ । सदरमुकाम फुङलिङबाट सीमा पुग्न ९५ किमि पार गर्नुपर्छ । यसको पूर्ण तथा व्यावसायिक प्रयोग गर्ने हो भने पूर्वी नेपाललाई सहज हुनेछ ।

जे पनि ल्याउन मिल्ने नाङपाला
सोलुखुम्बुसँग जोडिएको चीनको ‘नाङपाला’ चार वर्षदेखि बन्द छ । यो खुलाउन सके नाङपालादेखि खाद्यान्न, लत्ता कपडा, पेट्रोलियम पदार्थलगायत सामग्री ल्याउन सकिन्छ । सडक भने बनेको छैन । तर, नाम्चेदेखि नाङपालाको दूरी दुई दिनको मात्र छ । याक र चौंरीमार्फत भारी बोकाएर सामान ल्याउन सकिन्छ । यो नाका प्रयोग भएमा राजधानीबाट स्थल मार्ग हुँदै ओखलढुंगाको रुम्जाटारसम्म विमान र हेलिकप्टरमार्फत दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न गाह्रो छैन । त्यति गर्दा पनि मूल्य आधा सस्तो पर्ने व्यवसायीहरूको आँकलन छ ।

नाका बन्द भए पनि नाङपालाभन्दा केही पर तिब्बतकै थिंग्रीसम्म अझै चौंरीखर्क, नाम्चे र खुम्जुङ गाविसका बासिन्दाले जान पाउने व्यवस्था छ । यो नाका खोल्न सकेमा चीनबाट सिमेन्ट, रड लगायत पूर्वाधार निर्माणका सामग्रीसँगै पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य सामग्री, ग्यास सबै ल्याउन सकिने छ ।

हुम्ला जोडिए सहज
हुम्लाको हिल्सा (यारी) नाकाको तिब्बततर्फको भागमा कालोपत्रे सडक छ । नेपालतर्फ भने सदरमुकाम सिमकोट जोड्ने सडक निर्माण पूरा हुन सकेको छैन । सदरमुकामबाट सीमा जोड्ने करिब ९० मध्ये ४५ किमि सडक निर्माण भएको छ । सीमाबाट सदरमुकामतिर सडक निर्माण भइरहेको छ । सीमाको तिब्बतर्फको भाग शेराबाट करिब ३० किमि टाढा तिन्चु भन्ने मैदानमा व्यवस्थित बजार छ । नेपालीहरू त्यहीबाट चिनियाँ सामान ल्याउने गर्छन् ।

नेपालतर्फको सडक बनाउने हो भने चीनबाट सहज रूपमा पेट्रोलियम पदार्थ तथा खाद्य सामग्री ल्याउन सक्ने अवस्था छ । स्थानीय सामाजिक कार्यकर्ता दल रावलका अनुसार चीनले नेपालतर्फको सडक बनाइदिने प्रस्ताव राख्दै आएको छ । ‘नेपालले अनुमति दिएमा सडक निर्माण गर्ने भनेका छन्,’ रावलले भने, ‘हाम्रै पक्षबाट चासो दिएको पाइएन ।’

मुगुमा सडक निर्माण सुस्त
मुगुमा तिब्बतको व्यापारिक नाका जोड्ने सडक निर्माण सुस्त छ । यस्तै गतिले काम भए पूरा हुन २० वर्ष लाग्ने अनुमान सडक डिभिजन कार्यालयले गरेको छ । मुगु गमगढीदेखि तिब्बतको व्यापारी केन्द्र हयाजिमारसम्म ८४ किलोमिटर छ । अहिलेसम्म गमगढीदेखि रोवा गाविसको कम्फासम्म १४ किलोमिटर मात्र सडक बनाइएको छ । सडक लागि बर्सेनि ३ करोड विनियोजन गरिएको छ । चालू आवका लागि ९ करोड छुट्टयाइएको छ ।