भारतको आसाममा ५६ गाउँलेको हत्या

उत्तरपूर्वी भारतीय राज्य आसामको एक दुर्गम इलाकामा मङ्गलबार राति सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा पनि ५६ गाउँलेको हत्या गरेका छन् । आतङ्ककारी प्रकृतिका ती हतियारधारीले मङ्गलबार राति गाउँलेलाई घरबाट निकालेर सडकमाल्याई हत्या गरेका बताइएको छ । आक्रमणबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ५६ पुगेको प्रहरीले बुधबार बिहान जानकारी दिएको छ ।
यस आक्रमणमा अन्य ८० जना घाइते भएका छन् । घाइते मध्ये २० जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले बताएको छ । आसामको सधैँ अशान्त भइरहने इलाकामा मङगलबार अबेर राति भएको सशस्त्र हतियारधारीहरुले आफ्नो घरमा सुतिरहेका गाउँलेलाई तानेर ल्याएर गोली हानी हत्या गरेका प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
यस आक्रमणमा महिला र बालबालिकाको सङ्ख्या पनि उच्च रहेको बताइएको छ ।  निर्दोष बालबालिकाको समेत निर्ममतापूर्वक हत्या गरिएको बताइएको छ । यो अत्यन्त विभत्स आक्रमण भएको सो राज्यका मुख्यमन्त्री तरुन गोगोइले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।
प्रहरीका अनुसार यस आक्रमणमा नेसनल डेमोक्र्याटिक फ्रन्ट अफ बोडोल्यान्ड (एनडीएफबी) को हात रहेको दाबी गरिएको छ । एनडीएफबीले दशकौँंदेखि आसामलाई अलग र स्वायत्त राज्यको मागगर्दै आन्दोलन जारी राखेको छ । उनीहरुको सो सशस्त्र विद्रोहका कारण उक्त राज्यमा मात्र दश हजार नागरिकको ज्यान गएको छ ।