कात्तिक ११ | भरत पाण्डेय /काठमाठौं– इन्धन अभावले तेल सकिएर सार्वजनिक सवारी साधन जंगलजंगल रोकिएका छन् । गाडी नपाएर लाखौँ सर्वसाधारणले सास्ती भोग्नु परेको छ । नेपालीहरुको महान चाड दशैंको बेला इन्धन अभावको कारण कतिपय नेपाली आफ्नो घरमा जान पाएनन्, कतिले समयमै उपचार गर्न पाएनन् ठूलो समस्या भईरहेको छ ।

तर गुल्मीमा भने प्रहरी, पत्रकार र पेट्रोलपम्प व्यवसायीले तेलको दुरुपयोग गरेको फेला परेको छ । जिल्लामा भित्रीएको पेट्रोलियम पदार्थ समुचित रुपमा विक्री गर्नका लागि जिम्मा पाएका प्रहरी प्रमुख डिएसपिले पहुँचवालालाई माथिको आदेशमा तेल उपलब्ध गराउने, पत्रकारले पेशाको मर्यादा बेचेर तेल लिएर विक्री गर्ने फेला परेको हो ।
प्रहरी नायव उपरीक्षक रविन्द्र रेग्मीले माथीबाट आएको आदेशको आधारमा तेल वितरण गरेको गुनासो अत्यधिक बढेको छ । रेग्मीले माथिल्लो निकायको फोनका आधारमा तेल वितरण गरीरहेको गाडीवालाले गुनासो गरेका छन् । ‘उहाँसंगै बसेका ईन्स्पेक्टर सापबाट फोन गराएर मैले पाँच लिटर तेल मिलाएँ,’ काठमाडौका एक पत्रकारले भने ‘समस्या नै भयो भनेपछि गुल्मीमा त्यति असहज छैन ।’
स्रोतका अनुसार दशैंमा मात्र डिएसपीको आदेशमा गुल्मीमा २ सय लिटर बढी पेट्रोल र त्यो भन्दा धेरै परीणाममा डिजेल चोरबाटोबाट उपलब्ध गराईएको छ । यसरी चोरबाटोबाट दिइने तेल डिएसपिले रातको समयमा उपलब्ध गराउने गरेका छन् ।
प्रहरीकै गाडी परिचालन
चोरबाटोबाट आफ्ना र पहुँचवाला मान्छेलाई तेल उपलब्ध गराउन प्रहरीको गाडी प्रयोग हुने गरेको छ । प्रहरी नायव उपरीक्षक रेग्मीले जिप्रका देखि पेट्रोलपम्प सम्म गाडी नै पठाएर सुरक्षा घेरामा चोरबाटोको तेल दिने गरेका छन् । ‘डिएसपि सा’पकहाँ गएपछि आफ्नै गाडीमा राखेर पठाउनुभयो र उदिनढुंगाको पम्पबाट तेल राखेँ ’ एक पत्रकारले डिएसपिको आदेशमा आफ्नो कारमा तेल राखेपछि भने ।
प्रहरी सुरक्षा घेरामा मनपरी तेल बाँडेको देखेपछि पम्प वरीपरीका स्थानीयलाई पनि फाईदा हुने गरेको छ । दशैंको अष्ठमीको दिन तम्घास उदिनढुंगास्थित दिपक बोहोरा आयल स्टोर्सबाट रातको १२ बजे प्रहरीको घेराबन्दीमा पेट्रोल भरेपछि स्थानीयले बिरोध गरेका थिए । स्थानीयको विरोधपछि उनीहरुलाई समेत चाहिएजति पेट्रोल उपलब्ध गराएको गाडीका स्टाफ सुजन कुँवरले बताए । ‘१२ बजे प्रहरीले तेल भरेको देखेपछि हामीले विरोध ग¥यौँ, त्यसपछि हामीलाई पनि पेट्रोल दियो ।’ कुँवरले भने ‘मेरो त मोटरसाईकल थिएन, तर हुनेहरुले फुलट्याँकी भरेर जर्किनमा पनि भरेर राखे ।’
एम्बुलेन्सलाई समेत सास्ती
पहुँचवालाहरुलाई लुकिचोरी तेल दिएपनि जनताको अत्यावस्यक सवारी साधन एम्बुलेन्स र अन्य विरामी बोकेका सवारी साधनले समेत तेल नपाएर सास्ती भोग्नु परेको गुनासो गरेका छन् । विरामी बोकेका गाडीलाई तेल उपलब्ध गराउने जिल्लामा निर्णय भएपनि एम्बुलेन्सलाई समेत तेल नदिएर सास्ती दिने गरीएको हो ।
‘पहिला पहिला त एम्बुलेन्स गएपछि तेल दिन्थे, अहिले त पहिला एम्बुलेन्समा विरामी राखेर प्रहरीकहाँ पुगेर सिफारीस बनाउने अनिमात्रै पम्पमा पुगेर तेल हाल्ने अवस्था छ ।’ एम्बुलेन्स चालक विष्णु पन्थीले भने ‘एम्बुलेन्सको अरु के नै काम हुन्छ र ? विरामी बोकेपछि त तेल दिनुपथ्र्यो नि ।’
राजनीतिक दल र पत्रकारलाई कोटा
सर्वसाधारणलाई सेवा दिईरहेका सार्वजनिक सवारी साधन ईन्धन सकिएर जंगल र विचबाटोमा थन्किरहेका छन् । तर पत्रकार र राजनीतिक दललाई भने कोटामा तेल उपलब्ध गराईएको छ । राजनीतिक दललाई २५ लिटरका दरले र पत्रकारलाई एक सय १८ लिटर पेट्रोल उपलब्ध गराइएको हो ।
पत्रकारहरुले कोटामा पाएको तेल मनपरी वितरण गर्ने गरेका छन् । पत्रकार महासंघले नै तेल लिएर आ आफ्ना मान्छेलाई मनपरी वितरण गर्ने गरेको र पत्रकारहरुले कोटाको तेल लिएर विक्री गर्ने गरेका छन् । ‘सबै साथीहरुका मोटरसाईकल छैनन, त्यसैले कतिपय साथीहरुले तेल लिएर विक्री गर्नुभयो ।’ पत्रकार महासंघका कोषाध्यक्ष अनिल खत्रीले भने ।
पत्रकारको कोटामा आएको तेल आफ्ना मान्छेलाई वितरण गरेको र अनियावार्य आवस्यकता पर्ने पत्रकारलाई समेत नदिएको भन्दै पत्रकारहरु झगडा समेत गरेका थिए । महासंघ अध्यक्ष नवराज भुसालले पत्रकारको कोटामा लिएको तेल आफूलाई उपलब्ध नगराएको भन्दै केही पत्रकारहरुले आपत्ति प्रकट गरेपछि दामासहीमा तेल बाँडिएको थियो ।
महासंघ अध्यक्ष भुसालले भने संकटको बेला अध्यक्षले आफ्नै तजविजमा बाहिरबाट आउने पत्रकारहरुलाई तेल उपलब्ध गराउने अधिकार नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘दँशैमा बाहिरबाट आउने पत्रकाहरु साथीहरुलाई समस्या परेमा पेट्रोल दिएर घरसम्म पुग्ने वातावरण बनाउन केही तेल राखेको थिएँ, झगडा गरेपछि सबैलाई दामासहिमा बाँडिदिएँ ।’ उनले भने ।
कतिपय पत्रकारले लामो समयसम्मको लागि तेल भरेर राखेको र कतिले जिल्ला भित्र र बाहिरका आफ्ना आफन्तलाई उपहार पठाएको स्थानीयले आरोप लगाएका छन् ।
सार्वजनिक सवारीलाई भने ब्ल्याकमा तेल
जिल्लामा जनतालाई नियमित सेवा दिईरहेका सार्वजनिक सवारी साधनले भने तेल नपाएपछि ब्ल्याकमा तेल भरेर सेवा दिने गरेका छन् । जिल्लाबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधनले तेल नपाएपछि चर्को सुल्क तिरेर तेल भर्न बाध्य भएको बताएका छन् ।
काठमाण्डौ, पोखरा, बुटवल लगायत बाहिरी जिल्लाका लागि छुट्ने सवारी साधनले रुपन्देही, नवलपरासीमा पुगेर तेल भर्ने गरेका छन् भने जिल्ला भित्र चल्ने सवारी साधनले पेट्रोलपम्प वरीपरी रहेका घर ब्ल्याकमा बेच्ने गरीएको तेल भर्ने गरेका छन् । आफ्नो व्यवसायको लागि भन्दा पनि जनताको सेवाका लागि ब्ल्याकमा तेल किनेर सेवा दिने गरीएको सवारी धनिहरुले बताएका छन् ।
ब्ल्याकमा चर्को मूल्यमा तेल भरेपनि जिल्ला बाहिर चल्ने अधिकांस सवारी साधनले भाडा भने बढाएका छैनन । ‘ब्ल्याकमा तेल हालेपनि हामीले त जनताका सेवाका लागि पहिला जतिकै भाडा लिएका छौँ ।’ गुल्मी यातायात व्यवसायी समितिका कार्यालय प्रमुख डोल बहादुर कुँवरले भने ।
सार्वजनिक सवारी साधनलाई तेल नदिने तर कालोबजारी गर्ने कारणले गर्दा अहिले जनतालाई सेवा दिन एकदमै समस्या भएको कुँवरले बताए । ‘सदरमुकाम बाहिरका पम्पहरुमा यात्रुबाहक सवारी साधनलाई अड्कलेर तेल दिने तर ड्रममा भने मनपरी तेल बेच्ने भएको छ ।’ उनले भने ‘सदरमुकाममा चल्ने सवारी साधनले सुनौलीबाट तेल लिएर आउने र सञ्चालन गर्ने गरेका छौँ ।’
यसैबीच पीएसपी रेग्मीले भने आफूहरुले नियमअनुसार तेल बितरण गरिरहेको दाबी गरे । ‘संकटको बेलामा प्रहरीले आवश्यकताको आधारमा नियमअनुसार नै तल बितरण गरेको छ, पहुँचवालालाई माथिको आदेशमा तेल उपलब्ध गराइएको भनिनु गलत हो’, उनले रातोपाटीसँग टेलिफोनमा भने । तेलको दुरुपयोग प्रहरीबाट नभएको भन्दै उनले पत्रकारलाई भने अन्य जिल्लाहरुमा जस्तै आवश्यकताअनुसार सकेसम्म तेल दिइरहेको बताए ।






