बन्द गराउँदै हिँडेका मधेसी मोर्चाका दुई नेता पक्राउ, मोटरसाइकलमा आगजनी

morcha

लहान, ८ कात्तिक । बन्दको उल्लंघन गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान सिरहाको लहानमा दुई मोटरसाइकलमा आगजनी गरेका छन् ।

मोचार्का कार्यकर्ताले बिहान ०८ः३० बजेतिर लहान नगरपालिका–३ रघुनाथपुर चोकमा बा ४१ प४६०० नंको मोटरसाइकलमा आगजनी गरेका हुन् । आगजनीमा मोटरसाइकलको इन्जिन तथा दुवै टायर जलेर नष्ट भएको छ ।

त्यसअघि मोर्चाका कार्यकर्ताले लहानको अस्पताल चोकमा बिहान सबेरै अनटेस्ट लेखिएको मोटरसाइकल जलाएका थिए ।

मोटरसाइकलसमेत चल्न नदिएर मोर्चाका कार्यकर्ताले अवरोध गरेपछि प्रहरीले बिहान ९ बजेतिर करिब एक सय मोटरसाइकललाई सुरक्षा दिई गन्तव्यतर्फ पठाएको छ ।

मोटरसाइकल नियन्त्रणमा लिएर जलाउन थालेपछि सर्वसाधारण त्रसित बनेका छन् । लहानको अस्पताल चोक, सहिद रमेश चोक र ट्राफिक चोकमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।

लहान बजार र पूर्वपश्चिम सडकको भित्री भागमा लुकेर बसेका मोर्चाका सदस्य र प्रहरीबीच झडप हुन सक्ने सम्भावना बढेको छ ।

प्रहरीले बजार बन्द गराउँदै हिँंडेको आरोपमा आन्दोलन संघर्ष समितिका सल्लाहकार सत्यनारायण यादव र तमलोपा सिरहाका जिल्ला सदस्य रोशन यादवलाई नियन्त्रणमा लिएको छ । रासस