इरानद्वारा नयाँ पुस्ताको प्रक्षेप्यास्त्र परीक्षण

इरानद्वारा आइतबार नयाँ पुस्ताको प्रक्षेप्यास्त्र परीक्षण गरिँदै । तस्बिर : रोयटर्स

काठमाण्डाै २५ असाेज ।  इरानले लामो दूरीमा निशाना लगाउन सकिने नयाँ पुस्ताको प्रक्षेप्यास्त्र परीक्षण गरेको छ । सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार ‘इमाद’ क्षेप्यास्त्र इरानी विज्ञले नै डिजाइन र निर्माण गरेका हुन् ।
पहिलोपटक लामो दूरीमा प्रहार गर्न सकिने क्षेप्यास्त्र परीक्षण गरिएको इरानी रक्षामन्त्री ब्रिगेडियर जनरल होसिन देहकानले जानकारी दिए । ‘हाम्रो प्रतिरक्षा योजना कार्यान्वयन गर्न कसैसँग अनुमति लिनु पर्दैन,’ उनले आईआरएनएसँग भने । उक्त क्षेप्यास्त्र निशानाको यकिन अवस्थाबारे जानकारी लिन र पूर्ण ध्वस्त बनाउन सकिने क्षमताको छ ।
रणनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका शोधार्थी एन्थोनी कड्र्सम्यानले अक्टोबर २०१४ मा इमाद क्षेप्यास्त्रबारे लेखेका थिए । उनको भनाइमा इमाद हालको साहब–३ क्षेप्यास्त्रको रूपान्तरण हो । ‘तर, प्रणालीमा विश्वसनीयता र क्षेप्यास्त्र प्रतिरक्षाको चलाखीपूर्ण रूप हो यो,’ उनले लेखेका छन् । उक्त तरल प्रकृतिको रकेटले १ हजार ७ सय किलोमिटर मार गर्न सक्छ । निशाना लगाइएको ५ सय मिटर क्षेत्रलाई ध्वस्त पार्न सक्ने क्षमताको छ । भारवहन क्षमता ७ सय ५० किलो छ । कड्र्सम्यानका अनुसार सन् २०१६ पछाडि त्यसलाई प्रयोगमा ल्याउने सरकारी योजना छ ।
हालको साहब–३ क्षेप्यास्त्र उत्तर कोरियाको मिसाइल नोडोङसँग मिल्दोजुल्दो रहेको बेलायतको रणनीतिक अध्ययन प्रतिष्ठानका शोधार्थी माइकल इलम्यानले उल्लेख गरेका छन् । कड्र्सम्यानका अनुसार तेहरानले आफ्नो क्षेप्यास्त्र प्रविधिमा निरन्तर विकास गरिरहेको छ । खासगरी मार्गदर्शन प्रणालीमा स्तरोन्नतिमा तेहरानले ध्यान केन्द्रित गरेको छ । हालको इरानी क्षेप्यास्त्र प्रणाली कमजोर र अविश्वसनीय मानिन्छ । जसले, सैन्य प्रभावकारितालाई सीमित बनाएको छ ।
‘नयाँ क्षेप्यास्त्रले मार क्षमता मात्र बढाउने छैन, हवाई सैन्य बलको विस्तारमा समेत योगदान दिनेछ,’ कड्र्सम्यानले लेखेका छन् । इरानको वायुसेना खाडी क्षेत्रको सबैभन्दा ठूलो हो । सन् १९७९ को इरानी क्रान्तियता तेहरानले वायुसेनाको क्षमता विस्तारमा ध्यान दिँदै आएको छ ।
इरानको क्षेप्यास्त्र परियोजनाबारे विश्वले नै नजिकबाट नियालिरहेको छ । फेब्रुअरी २०१४ मा तेहरानले सतहबाट सतहमा मार गर्न सकिने लेजर प्रविधिको क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको सार्वजनिक भएको थियो । लगत्तै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले त्यसलाई ‘क्षेत्रीय खतरा’ भनेको थियो ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सन् १९२९ मा इरानलाई परमाणु हतियार प्रहार गर्न सक्ने क्षेप्यास्त्र परीक्षणलगायत गतिविधिमा रोक लगाएको थियो ।
सन् २००३ मा इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीले भविष्यमा ठूलो क्षमताका हतियार र बम निर्माण नगर्ने प्रतिबद्धता र पहल थालेका थिए । गत जुलाईमा इरान तथा अमेरिकी, चीन, जर्मनी, फ्रान्स, बेलायत र रुसबीच परमाणु कार्यक्रम अगाडि नबढाउने सहमति भएको थियो । युरेनियम अनुसन्धान र विकासलाई समेत सीमित गर्न इरान सहमत भएको थियो ।