दशैँका लागि ल्याएका खसीबोका सीमापारी अलपत्र

काठमाण्डौ २२ असोज । दशैंका लागि राजधानी ल्याउन लागिएका खसीबोका भारतको रुपडिया नाकामा अलपत्र परेका छन् । चौपाया खरीद विक्री व्यवासायीहरुले ल्याउन लागेका ४ हजार खसीबोका भारतको नाकाबन्दी र मधेश आन्दोलनका कारण नेपाल भित्र्याउन नपाउँदा नाकामा अलपत्र परेका हुन् । ‘हाम्रो आज १२ ट्रकजसो खसीबोका ल्याउनुपर्ने थियो, बोर्डरमा आईसकेको छ ।’ चौपाया खरीदविक्री संघका अध्यक्ष दिपक थापाले भने , ‘आन्दोलनका कारण भन्सार नहुँदा सीमापारी नै रोकियो ।’ आन्दोलन र त्रासका कारण नेपाली भन्सार कार्यालयले भन्सार जाँचपास गर्न नसकेकोले खसीबोका नेपाल ल्याउन नसकिएको हो । भन्सार जाँचपास भएपनि त्रासका कारण नेपाल भित्र्याउन सक्ने नसक्ने अन्योलताले व्यापारीहरु दोधारे अवस्थामा छन् । ‘जाँचपास त होला तर त्यसपछि नेपालमा ल्याउँदा सुरक्षित साथ राजधानी ल्याउन सकिने हो किन सकिने हो भनेर व्यापारीहरु अन्यौल छन् ’ थापाले भने ‘सरकारले सुरक्षा दिँदैन, कसरी ल्याउने भनेर सबै अलमल छन् ।’ राजधानीमा दँशैका लागिमात्र ३० देखि ३५ हजार खसीबोका आवस्यक पर्ने थापाले बताए । गतवर्ष ४०÷४५ हजार खसीबोकाको मासु दँशैमा खपत भएकोमा यो वर्ष त्यो भन्दा केही कम लाग्ने अनुमान गरिएको पनि उनले बताए । ‘तर तेलको यस्तै अभावभयो र यातायातका साधन चलेनन भने त धेरै मान्छे काठमाण्डौमै बस्लान, अनि अनुमान गरेभन्दा धेरै मासु खपत हुनपनि सक्छ ।’ उनले भने । भारतबाट मासु आयात नगरेपनि दँशैमा मासुको संकट भने नहुने जानकारहरु बताउँछन् । मासु व्यावसायी र पशुसेवा विभागले पनिदँशैमा नेपालको पशुपंक्षीले मासुबजार धान्न सक्ने बताएका छन् । तर लगातारको नाकाबन्दीले ईन्धन अभाव भई ढुवानीका साधनको अभाव र असुरक्षाका कारण दँशैमा मासुका लागि समस्या पर्न सक्ने उनीहरुको भनाई छ । ‘अहिलेको अवस्थामा मासु नपुगेरै समस्या त हुँदैन तर ढुवानी गर्न सकिएन भने समस्या हुन सक्छ ।’ पशुउत्पादन निर्देशनालयका बरीष्ठ पशु विकास अधिकृत डा सूर्य प्रसाद पौडेलले भने ।