![]()
काठमाण्डौ, २१ असोज । आगामी मंसिर महिनाको १० देखि १४ गतेसम्म काठमाडौमा १३ औं हस्तकला व्यापार मेला गरिने भएको छ।
नेपाल हस्तकला महासंघले वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँग मिलेर भृकुटीमण्डपमा १३ औं हस्तकला व्यापार मेला गर्ने भएको हो। महासंघले विहीबार काठमाडाैँमा पत्रकार सम्मेलन गरेर मेलामा मुलुकका विभिन्न ४५ वटा जिल्लाका स्थानीय उत्पादन राखिने जानकारी दिएको छ।
आयोजकका अनुसार मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, हीरा र अमूल्य रत्न जडित गरगहना, फेल्टका सामान, पश्मिना, हाते कागज र छालाजन्य सामानका १ सयवटा स्टल तथा ६ वटा पेभेलियन रहने छन्। मेलाका लागि १ सयवटा स्टल र ६ वटै पेभेलियन बुक भइसकेको महासंघले जनाएको छ।
महासंघका अध्यक्ष हेमरत्न शाक्यले ३ लाखभन्दा बढीले मेला अवलोकन गर्ने र मेलामा १० करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान गरिएको बताए। पछिल्ला केही वर्षयता वर्षेनि १० अर्ब रुपैयाँभन्दा बढीका हस्तकलाका सामाग्री अमेरिका, प्राmन्स, बेलायत, जापान, चीन लगायतका मुलकमा निर्यात हुने गरेका छन्। मुलुकभित्र पनि वर्षेनि ८ अर्ब रुपैयाँका हस्तकलाका सामाग्री खपत हुने गरेको महासंघले जनाएको छ।






