सरकारले नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीलाई आज यहाँ अभिनन्दन गरेको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बाल कल्याण समितिद्वारा आयोजित कार्यक्रममा सत्यार्थीलाई बालअधिकारका क्षेत्रमा उहाँले दिनुभएको योगदानको कदर गर्दै सो अभिनन्दन गरिएको हो ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीले सो सम्मान प्रदान गर्नुभयो । सम्मान ग्रहण गर्दै सत्यार्थीले आफूले पाएको पुरस्कार विश्वका सम्पूर्ण आवाजविहीन र पहिचानविहीन बालबालिकाले पाएको पुरस्कार हो भन्नुभयो ।
उहाँले कानुन वा भाषणमा मात्र बालअधिकारलाई सीमित नराखी हाम्रो संस्कारमै त्यसलाई समाहित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पुरस्कार पाउनुको जस नेपाललाई पनि जान्छ भन्दै मानवताको लडाइँमा आफू महात्मा गान्धीबाट प्रभावित भएको जनाउँदै बालअधिकारका क्षेत्रमा नेपाल र भारतका समान समस्या रहेको बताउनुभयो ।
सत्यार्थीले राजनीतिक दल, व्यावसायिक तथा सामाजिक संस्था सबैले बालमैत्री समाज, बालमैत्री राजनीति, बालमैत्री संस्कृति र अर्थनीतिका लागि काम गर्नुपर्नेमा पनि जोड दिनुभयो । बालबालिकालाई ओझेलमा राखेर तर्जुमा गरिने कुनै पनि नीतिले मुलुकको गरिबी निवारण, सुरक्षा, सुशासनजस्ता क्षेत्रमा सुधार हुन नसक्ने बताउनुभयो ।
मन्त्री केसीले बाल दासताविरोधी अभियानमा निरन्तर लाग्नुभएका सत्यार्थीले दक्षिण एसियाली मुलुकमा साझा समस्याको रुपमा रहेको बालश्रम शोषण र बाल दासतालाई निर्मूल पार्न खेल्नुभएको भूमिकाबापत पुरस्कृत हुनुभएकोमा बधाई दिनुभयो ।
उहाँले बाल दासताविरोधी अभियानलाई विश्वस्तरमा फैलाउन सत्यार्थीका कामले प्रेरणा मिलेको बताउँदै नेपालको बालअधिकारको संरक्षणमा पनि त्यसको सकारात्मक प्रभाव परेको बताउनुभयो । व्यवस्थापिका संसद्को महिला, बालबालिका तथा समाज कल्याण समितिका सभापति रञ्जु झाले सत्यार्थीले देखाएको बाटोलाई पछ्याउँदै नेपालको बालअधिकारको प्रवद्र्धनका लागि एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले बालअधिकारका लागि कुराभन्दा काम गरेर देखाउन प्रभावकारी कानुन लागू गर्नुपर्ने बताउनुभयो । समितिका अध्यक्ष डिल्लीराम गिरीले सत्यार्थीले देखाएको बाटोलाई नेपालका बालअधिकारकर्मीले पनि पछ्याउने बताउनुभयो । कार्यक्रममा बाल मजदुर सरोकार केन्द्र (सिविन), नेपाल गुडविथ फाउन्डेसनले उहाँलाई सम्मान गरेका थिए । सत्यार्थी हालै नोवेल शान्ति पुरस्कार प्राप्त गरेपछि यही पुस ४ गते नेपाल आउनुभएको थियो ।
सत्यार्थीलाई सरकारको अभिनन्दन






