दसैंलाई आन्तरिक वायुसेवाको टिकट सकियो

TIA-Domestic-Airlinesकाठमाडौं १८ असोज। दसैंका लागि आन्तरिक वायुसेवाका उडानको टिकट बुकिङ ८५ देखि ९० प्रतिशतसम्म सकिएको छ । तराई बन्द र भारतले लगाएको नाकाबन्दीका कारण सडक यातायातको दसैंलाई टिकट बुकिङ अनिश्चित भएपछि यसवर्ष हवाई यात्रुको चाप बढेको हो ।

आन्तरिक वायुसेवा कम्पनीले दसैंका लागि सस्तो भाडादरमा उडान नगर्ने गरी नर्मल भाडादरमा मात्रै बुकिङ लिएको भए पनि इन्धनको आपूर्ति सहज नभएका कारण उडान अझै निश्चित नभएको बताएको अन्नपूर्ण पोस्टमा खबर छ । ‘दसैंका लागि सबैजसो गन्तव्यकोउडान बुकिङ प्याक भैसकेको छ’, बुद्ध एयरका बरिष्ठ बजार निर्देशक रुपेश जोशीले भने, ‘इन्धन आपूर्ति सहज नभएका कारण ग्राउन्ड सपोर्टका साधन सञ्चालन नै रोकिने अवस्थामा पुगिसकेकोले पनि जुनसुकै बेला हवाई उडान रद्दको सूचना जारी हुन सक्छ ।’
भारतले गरेको अघोषित नाकाबन्दीले निजी सवारीसाधनलाई इन्धन आपूर्ति बन्द गरिँदाको असर आन्तरिक वायुसेवा कम्पनीलाई समेत पर्न थालेको छ ।