आन्दोलनमा मृत्यु भएका परिवारलाई कतारबाट सहयोग

बारा  १४ असोज । कतारमा कार्यरत मधेसी मुलका नेपालीहरुले तराई मधेसमा जारी आन्दोलनको क्रममा शाहदत भएका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रहरीको गोली लागेर मृत्यु भएका कलैया- १० रंगपुरका १९ बषर्ीय हेफातज मियाँ अंसारीको परिवारलाई ४३ हजार पाँच सय रुपैया आर्थिक सहयोग प्रदान गरेका हुन् ।

तराई मधेशमा जारी आन्दोलको क्रममा प्रहरीको गोली लागि मृत्यु भएका परिवारको आर्थिक अवस्था कमजोर रहेको र जीवन धान्न नसक्ने समाचार अनलाईनखबरमा प्रकाशित भएपछि कतारमा कार्यरत मधेसी मुलका युवाहरुले रकम संकलन गरी पठाएको उमेशकुमार जैसवालले बताए ।

बाराको महागढीमाई नगरपालिका बरियारपुर, गंजभवानीपुर, कवहीगोठ लगायतका ठाउँबाट कतारमा काम गर्न गएका युवाहरु बिकेश जैसवाल, उमेश जैसवाल, श्रीकान्त कुमार, कौशल जैसवाल, सम्भु साह लगायतकाले कतारमै आर्थिक संकलन गरी अंसारीको परिवारलाई सहयोग गरेको हो ।

साथै उनीहरुले अंसारीको परिवारको लागि एक पत्र समेत पठाएका छन् । ‘तपाईको छोरा कहिलै मर्ने छैनन्, उनले शाहदत प्राप्त गरेका छन्, मधेसमा रहेका तमाम युवाहरु तपाईको छोरा हो, तपाईहरु चिन्ता नलिनु तपाईहरुका लागि हामी छौ’ उनीहरुले कतारबाट पठाएको पत्रमा उल्लेख गरिएको छ ।

हिफाजतका ५५ बषर्ीय बुवा नजिर मियाँ अंसारी कानले राम्रोसंग सुन्न सक्दैनन् । एक अक्षर समेत नपढेका बेरोजगार बुवा नजिर मियाँ अंसारी र आमा बिगनी खातुन अधिकांश समय घरमै बसेर दिन बिताउँछन् । धान, गहु, मकै रोप्ने सिजनमा उनीहरु अर्काको खेतमा ज्यालादारी गर्छन् । सधै यस्तो काम पाउँन सकिदैन् । उनीहरु सिजन अनुसार खेतालाको काम गर्ने गर्छन् ।

हिफाजतको एक बर्षकी छोरी हसबुनेसालाई जन्मजात पोलियो रोग लागेको छ । श्रीमती सबिना खातुन पाँच महिनाको गर्भवति छिन् । उनीसँग केही सीप छैन् । श्रीमानले काम गर्ने र उनी घरको काम गरेर दिन बिताउँछिन् । हिफाजको दाई तेफाजुल मियाँ अंसारी भाई र बुवा आमासँग छुटिएर बसेका छन् ।

साधारण लेखपढ गरेका हिफाजत एक अनुभवी साईकल मिस्त्री थिए । घरको आर्थिक अवस्था कमजोर भएकै कारण पढन नपाएपछि उनी सानैदेखि साईकल बनाउँने काम गर्न थालेका थिए । कलैया बजारको हनुमान रोडमा रामचन्द्र साहको साईकल पसल रहेको छ । उनले सोही पसलबाट हुने आम्दानीबाट परिवार पाल्दै आएका थिए ।