
काठमाडौँ, ६ असोज । तीन प्रमुख तीन राजनीतिक दलले नेपालको संविधानप्रति भारतीय प्रतिक्रिया र त्यसकोे सम्भावित प्रभावका विषयमा आज गम्भीर छलफल गरेका छन् ।
पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ सम्पन्न बैठकले देशको समग्र सुरक्षा अवस्था र संविधान जारी पछिको स्थितिका विषयमा छलफल गरेको हो । बैठकपछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानका विषयमा नबुझेका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रलाई बुझाउने र असन्तुष्ट दललाई सहमति ल्याउने विषयमा छलफल भएको बताउनुभयो ।
उहाँले संविधानले दिएको अधिकारलाई पनि नदिएको जस्तो गरिएको भन्दै नबुझेर आन्दोलनमा रहेका राजनीतिक दललाई संविधानका विषयमा स्पष्ट पारिने पनि बताउनुभयो ।
नेकपा९एमाले०का उपाध्यक्ष भीमबहादुर रावलले संविधान जारीपछि भारतले दिएको प्रतिक्रिया र सो सम्बन्धमा नेपालले अपनाउनुपर्ने विषयमा गम्भीर छलफल भएको जानकारी दिनुभयो । उहाँले नेपालको समग्र सुरक्षा स्थितिका विषयमा पनि छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतको नाकाबाट आउने सामग्री रोकिएको भन्ने विषयमा पनि बैठकमा छलफल भयो ।” प्रधानमन्त्रीले संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिने विषयमा बुधबार परामर्श गरेर निर्णय लिने उपाध्यक्ष रावलले जानकारी दिनुभयो ।
संविधानमा असन्तुष्टि जनाउने राजनीतिक दलसँग वार्ता जारी राख्ने र उनीहरुलाई वार्ताका ल्याउने विषयमा दलहरुले स्पष्ट कुरा राख्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो । राष्ट्रिय हित र लोकतन्त्र, राष्ट्रिय एकता र सद्भावजस्ता विषयलाई ध्यान दिँदै तराई मधेस क्षेत्रमा लामो समयदेखि भएको बन्दले परेको प्रभावप्रति दलहरु संवेदनशील रहेको उल्लेख गर्दै उहाँले नेपालमा भएको घटनाक्रमका विषयमा अन्तर्राष्ट्रिय क्षेत्रलाईसामूहिक रुपमा स्पष्ट पारिने बताउनुभयो ।






