लण्डन । एनआरएन आईसिसीका अध्यक्ष शेष घलेले दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । बिहिबार सांझ लण्डनस्थित नेपाली दूतावासमा एनआरएन यूकेले गरेको एक अन्तरक्रियालाई सम्बोधन गर्ने क्रममा घलेले उम्मेदवारी दिने घोषणा औपचारिक रुपमा पहिलोपटक सार्वजनिक गरेका हुन ।
‘अष्ट्रेलियाका मेरा स्थानीय शुभेच्छकहरुले आफनै ठाउंबाट उम्मेदवारी घोषणा गर्नुपर्छ भन्नुभयो, त्यहांबाट म बचेर आए,’ लण्डनबाट उम्मेदवारी घोषणा गरेको संयोगबारे घलेले भने, ‘अमेरिकामा गए, बचेर आए । हिजो पोर्चुगलबाट पनि झण्डै बचेर आए । लण्डन आउंदा आउंदै बाटोमा सोंचे र अन्तत यो घोषणाको निर्णय लिए ।’
घलेले थपे, ‘तर यहां पनि तपाईहरुबाट यस्तो सपोर्टिभ भोइस नआएको भए भने सायद मेरो निर्णयलाई पछि सार्नुपर्ने थियो होला जस्तो मलाई लाग्छ ।’
‘मेरो यो सेकेण्ड टर्म कन्टीन्युएसन फस्र्ट टर्म भन्दा कुनै कमी हुन दिने छैन’
भन्दै उनले उम्मेदवारीको घोषणा गर्दा कार्यक्रममा सहभागी सबैले आ आफनो ठाउंबाट उठेर लामो ताली बजाएका थिए ।
घलेले आफुले विभिन्न मुलुकहरुको भ्रमण गर्दा अधिकांश ठाउंबाट आफुलाई दोस्रो कार्यकालमा निरन्तरता गर्न सुझाव आएको तथा पहिलो कार्यकालमा सुरु गरेका कैयौं प्रोजेक्टहरु पूरा गर्ने आफनो पनि चाहना भएका कारण दोस्रो कार्यकालका लागि अघि बढ्न लागेको बताए ।
एनआरएन यूकेका नवनिर्वाचित अध्यक्ष मुछेत्र गुरुंगको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा एनआरएन यूकेका पूर्व अध्यक्षहरु, कार्यसमिति पदाधिकारी, आईसिसीका प्रतिनिधी, यहांस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधी, पत्रकार लगायतका झण्डै ८० जना सहभागी थिए ।
महासचिव विजयविक्रम लिंगदेनले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दासुराम पाण्डेले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री, पूर्व अध्यक्ष डम्मर घले, आईसिसी सल्लाहकार विश्वआदर्श पण्डित, प्रवासी मञ्च अध्यक्ष रामशरण सिंखडा, जनसम्पर्कसमितिका लोक गुरुंग, एकता समाजका पुर्ण लक्सम, डा हेमराज शर्मा, गणेश इजाम लगायतले मन्तव्य राखेका थिए । त्यस्तै एनआरएन यूकेका पूर्व अध्यक्ष कुल आचार्यले पनि सोहि कार्यक्रमबाटै एनआरएनको युरोप क्षेत्रीय संयोजकका लागि आफनो उम्मेदवारीको औपचारिक घोषणा गरे ।
त्यसअवसरमा एनआरएन यूकेको गतसाता सम्पन्न अधिवेसनमा सफलतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्वाचन समितिका सबै पदाधिकारी तथा सदस्यलाई प्रशंसापत्र र खादाले सम्मान गरिएको थियो ।
सोहि कार्यक्रममा तुम धि यूकेले भूकम्पपीडितका लागि संकलन गरेको १ करोड ११ लाख ११ हजार १ सय ११ रुपिया बराबरको सहयोग चेक एनआरएनको राहत कोषका लागि अध्यक्ष घलेलाई हस्तान्तरण गरिएको थियो ।






