लन्डन,
एनआरएन यूकेको छैटौं महाधिवेशन भोलि सेप्टेम्बर १३ तारिख लन्डनको प्लम्स्टेट एसियन कम्युनिटी सेन्टरमा हुँदैछ । गत शनिबार अपत्यारिलो र अवैधानिक तरिकाबाट उम्मेदवार दिएका र नदिएका असन्तुष्ट पक्षबीच भएको पदको भागवण्डाले छैटौं महाधिवेशनमा बेलायतवासी नेपालीहरुको चाँसो अझ खस्किएको छ ।
एनआरएन यूकेको पाँचौं अधिवेशनमा उत्पन्न विवादले गर्दा दुई वर्ष बेलायतको एनआरएन आपासी खिचातान र झैझगडामा नै अलमलियो ।
एनआरएन यूकेको आन्तरिक कलहले गर्दा अन्तर्राष्ट्रिय समन्वय समितिमा नै बेलायतको प्रतिनिधित्व शुन्य हुन पुग्यो । एनआरएनको जन्मथलो बेलायतमा देखिएको विवादले यसको विश्व सञ्जाललाई समेत प्रभावित पा-यो । तत्कालीन अन्तर्राष्ट्रिय नेतृत्वको अनुरोधमा असाधारण अवस्था भन्दै संगठनको सर्वमान्य व्यख्या भन्दा भिन्दै सहमति गर्नुप¥यो ।
छैटौं अधिवेशनको लागि विधिसम्मत प्रकृया अगाडि बढाइ मतदाता र उम्मेदवारको नामावली प्रकाशित गरिसकेको अवस्थामा एक्कासि गत शनिबार सहमतिका अन्य प्रक्रियालाई अभिलम्बन नगरी अधिवेशनमा सबै प्रक्रियालाई निस्तेज गरियो । एनआरएन यूकेका पूर्व नेतृत्वले संस्थालाई आफ्नो पेवाजस्तो गरी सहमतिका नाममा विधि, विधान र प्रक्रियालाई लत्याएर पदहरुको भागवण्डा गर्दा आम बेलायतवासी नेपालीहरुको एनआरएन यूकेप्रति आफ्नो अभिनत्य नभएको महसुस गरेका छन् ।
सहमति हुनु राम्रो कुरा हो । सामाजिक संघ संस्थाहरु फुटेर होइन आपसमा जुटेर काम गरे सबैको भलो हुन्छ । एनआरएन एक वैधानिक संस्था हो । यसअन्तर्गत गठन भएका राष्ट्रिय समितिहरु पनि केन्द्रीय विधानको विपरित नहुने गरी गठन गरिनु पर्छ । विधि र प्रक्रिया बिनाको कथित पद पाउनका लागि गरिएको सहमतिले संस्था बलियो हुनै सक्दैन । यसको ज्वलन्त उदाहरण विगत दुई वर्ष हाम्रो सामु छ ।
विधान र नियमलाई मिचेर बल मिचाइका आधारमा मात्र चल्ने परिपाटी बसाउने हो भने भोलिका दिनमा एनआरएन यूके बेलायतवासी नेपालीको छाता संगठन नभइ एक समूह हुनेछ । विगतको झगडाले तर्सिएर वा एकाद व्यक्तिको दबाबमा परेर वर्तमान कार्यसमिति र निर्वाचन समिति आफ्नो कर्तव्यबाट पन्छिएको स्पष्ट देखिन्छ । के कस्तो परिस्थिति सिर्जना भएर विधान र प्रक्रियाभन्दा बाहिर गएर सहमति गर्नुप¥यो अहिलेसम्म पुष्ट्याइ भएको छैन । सायद भोलिको साधारणसभाले यसको जानकारी पाउने छ ।
भोलि हुने छैटौं महाधिवेशनबाट अब संस्थाको विगतका कमीकमजोरीलाई सच्चाउने आशा नभए पनि गत शनिबार गरिएको सहमतिलाई विधानसम्मत बनाउने प्रक्रिया पूरा ग-यो भने पनि यसको सार्थकता ठहरिनेछ ।
यदि साच्चै नै संस्थाको हितको लागि काम गर्नका लागि सहमति भएको हो भने आउने नयाँ कार्यसमितिलाई एनआरएन यूकेको खस्केको सानलाई उच्चो पार्दै सबै बेलायतवासी नेपालीहरुमा यसको पहुँच बढाउँदै आगामी दिनमा विधानसम्मत संस्थागत रुपमा हिडाउने कार्यक्रमा सफलता मिलोस् अग्रिम शुभकामना ।







![11998393_10204925566647763_1204661498_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/09/11998393_10204925566647763_1204661498_n1-150x150.jpg)