गुल्मी, २१ भदौं । विगत वर्षहरुमा जस्तै यस वर्षपनि नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालीका (तीज) को अवशरमा गुल्मेली समाज जापानले ‘तीज विषेश कार्यक्रम २०१५’ विविध सांगीतिक कार्यक्रमहरु सहित मनाउन लागेको छ ।
विभिन्न पेशाको सिलशिलामा आफ्नो मातृभूमि नेपालवाट जापान पुगेका गुल्मेली दिदीवहिनीहरुलाई दर खुँवाउँदै वर्षको एक दिन भएपनि सांगितिक माहोलमा रम्दै खुसियाली साटासाट गर्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको गुल्मेली समाज जापानका महासचिव एवं प्रचार प्रसार संयोजक महेन्द्र कुमार अधिकारीले वताउनु भएको छ ।
समाजले यही सेप्टेम्बर १० तारिकका दिन दिउसो ३ वजेदेखि टोकियो स्थीत ओता–कुको ईकेगामि खाईकानमा आयोजना गर्नलागेको उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको वताईएको छ । जस अन्र्तगत कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नकालागि विभिन्न उप समितिहरु गठनगरि कार्यविभाजन गरिएको जनाईएको छ ।
उक्त संस्थाले सोही दिन सम्पूर्ण गुल्मेली दाजुभाइ तथा दिदीवहिनीहरुलाई कार्यक्रममा उपस्थितिको सवैमा आग्रह गरिएको उक्त संस्थाका अध्यक्ष शालीकराम भण्डारीले बताउनु भएको छ । कार्यक्रममा महिलातथा वालवालीकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने पुरुषहरुलाई भने प्रवेशको लागि न्यूनतम शुल्क लाग्ने वताईएको छ ।
जापानमा रहेर पनि विभिन्न सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आइरहेको उक्त संस्थाले गत वर्ष सोही अवशरमा च्यारिटी शो कार्यक्रमको आयोजना गरि गुल्मीमा रहेका विभिन्न संस्थाहरुलाई आर्थिक सहयोग समेत उपलव्ध गराएको थियो ।
– जनार्दन घिमिरे
गुल्मेली समाज जापानद्वारा तीज विषेश कार्यक्रमको भव्य तयारी






