अमेरिकी डलरको मूल्य १००.०४

काठमाडौं। १० महिनापछि फेरि एक अमेरिकी डलरको मूल्य एक सय रुपैयाँ नाघेको छ। गत बर्ष फागुन २ गते एक सय रुपैयाँ १८ पैसाबाट झर्न थालेको डलरको मूल्य शुक्रबार एक सय रुपैयाँ चार पैसा पुगेको हो। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि यो दर तोकेपनि भारतीय मुद्रा (भारु) थप कमजोर भएपछि नेपालका बैंकहरुले एक सय रुपैयाँ २५ पैसासम्म कारोबार गरिरहेका छन्। नेपाल एसबिआइ बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले एक सय रुपैयाँ २५ पैसामा कारोबार गरिरहेका छन्। नबिल बैंक र ग्लोबल आइएमइ बैंकले एक डलरको कारोबार एक सय रुपैयाँ २० पैसासम्म गरिरहेका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार, भारु शुक्रबार बजार खुल्दा थप १२ पैसा कमजोर भएको छ। सञ्चार माध्यमहरुका अनुसार, गत सातादेखि नै भारु कमजोर हुँदै आएको छ। भारु १० महिनाकै कमजोर अवस्थामा रहेको छ।

अहिले एक डलर बराबर भारु ६२.४५ मा कारोबार भइरहेको छ। अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारुका आधारमा निर्धारण हुन्छ। १४ बर्षअघि सरकारले एक सय भारु बराबर एक सय ६० रुपैयाँ नेपाली रुपैयाँ हुने निर्धारण गरेको हो। यही विनिमयदर अनुसार भारु कमजोर हुँदा नेपालमा पनि डलरको मूल्य बढ्छ। अमेरिकाको निर्यात व्यापारमा सुधार आएको र रोजगारी बृद्धि हुन थालेपछि अमेरिकी डलरको मूल्य बढ्न थालेको हो। अमेरिकी अर्थतन्त्र सवल हुँदै गएकाले भारु कमजोर भएको इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ। डेढ बर्षअघि भदौ २० गते अमेरिकी डलरको मूल्य ११० रुपैयाँसम्म पुगेको थियो। त्यसयता घटेर ९६ रुपैयाँसम्म डलरको मूल्य झरेको हो। डलरको मूल्य लामो समयसम्म ९७/९८ रुपैयाँको हाराहारीमा बसेको थियो। डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। चालु आर्थिक बर्षको पहिलो तीन महिनामा एक खर्ब ३४ अर्ब १९ करोड रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ। असोजसम्म २२ अर्ब ५३ करोडको बस्तु निर्यात भएको छ। डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा वढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ। भारतबाहेकका देशबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्।

चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युयानको भाउ निर्धारण हुन्छ। असोजसम्म एक खर्ब ९२ अर्ब २५ करोडको बस्तु तथा सेवा आयात भएका छन्। सबैभन्दा वढी असर पेट्रोलियम पदार्थको आयातमा पर्ने छ। कुल आयातको २८ प्रतिशत ओगट्ने पेट्रोलियम पदार्थ आयात हुन्छ। विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ। उत्पादित बस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्यमा देखिन थाल्छ। डलर वढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरित्त भार पर्छ। डलर वृद्धिले बजेट घाटा बढ्ने छ। असोजसम्म देशको बजेट घाटा एक खर्ब ६९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।   सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत वढी पैसा तिर्नु पर्ने हुन्छ। विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ।