संविधानसभाको बैठक आइतबार एक बजे

काठमाडौँ, २३ साउन । संविधानसभाको बैठक पुनः आइतबार १ बजेका लागि सरेको छ । प्रमुख दलहरुबीच संविधानका विवादित विषयमा सहमति हुन नसक्दा संविधानसभाको बैठक सारिएको आज तेस्रो पटक हो । संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईंकेलका अनुसार विशेष कारणवश संविधानसभाको बैठक सरेको जानकारी दिनुभयो ।
आज दिउँसो ३ बजेका लागि तय गरिएको बैठक ४, ६ र ८ बजे हुँदै आइतबार १ बजेका लागि तय गरिएको हो । प्रमुख दलका शीर्ष नेता सम्मिलित विशेष समितिमा विवादित विषयमा सहमति जुटन नसक्दा बैठक लम्बदै गएको छ । विशेष समितिको बैठक नसकिएका कारण संवैधानिक राजनीतिक संवाद समितिको बैठक पनि सर्दै गएको छ । आज दिउँसो १ बजेका लागि तय भएको संवाद समितिको बैठक ३, ५ हुँदै साँझ ८ बजेका लागि सरेको छ तर सो समयमा पनि बैठक बस्ने छाँटकाँट भने देखिएको छैन ।