लन्डन । नेपाली हास्यव्यङ्ग्य साहित्यका चर्चित स्रष्टा तथा कवि शैलेन्द्र सिम्खडालाई लन्डनमा सम्मान गरिने भएको छ।
सिम्खडाको सम्मानमा आगामी २६ नोभेम्बर बिहीबार साँझ ६ बजे लन्डनको ह्यारोस्थित ब्लु रुम रेस्टुरेन्टमा विशेष सम्मान कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा सिम्खडालाई सम्मान गर्नुका साथै उनका हास्यव्यङ्ग्यात्मक प्रस्तुति तथा साहित्यिक रचनाहरू प्रस्तुत गरिने छ। आयोजक तथा समाजसेवी बासु लामिछानेले लन्डन नेपाल न्यूजलाई दिएको जानकारीअनुसार नेपाली साहित्य, हास्यव्यङ्ग्य र मनोरञ्जनका क्षेत्रमा योगदान पुर्याउँदै आएका सिम्खडाको उपस्थितिमा कार्यक्रम आयोजना गर्न लागिएको हो।
नेपाली हास्यव्यङ्ग्य साहित्यका चर्चित स्रष्टा तथा कवि शैलेन्द्र सिम्खडाले लन्डनमा रहेका नेपालीहरूलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेका छन्। आफ्नो बेलायत बसाइ छ महिना पुगेको उल्लेख गर्दै उनले नेपाल फर्किनुअघि सबैसँग एकपटक भेटघाट गर्ने इच्छा व्यक्त गरेका छन्।
उनले भनेका छन्, “मेरो लन्डन बसाइ छ महिना सकियो। अब नेपाल फर्किनुअघि हजुरहरू सबैलाई एकपटक भेट्ने आशा गरेको छु। नोभेम्बर २६ बिहीबार आउनुहोस् है।”
कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति २० पाउन्ड प्रवेश शुल्क निर्धारण गरिएको छ। उक्त शुल्कमा रात्रिभोजसमेत समावेश गरिएको छ। आयोजकले कार्यक्रममा उपस्थितिका लागि सबैलाई अनुरोध गरेका छन्।
कार्यक्रमबारे थप जानकारी लिन मधुसूदन थापा (०७४२९ ८५००८१), भरत सिम्खडा (०७८५९ ०६२८८३), बासु लामिछाने (०७५५७ ०९५३८७) तथा महेश अर्याल (०७९५० १५८९९८) लाई सम्पर्क गर्न सकिनेछ।






