गोर्खाली इतिहास र सैनिकका व्यथासहित कवि नरेश काङमाङ राईको एकल कविता वाचन नोभेम्बर २२ मा आशफोर्डमा हुने

समाचार: भूमिराज राई

लन्डन । भोजपुरका चर्चित कवि तथा साहित्यकार नरेश काङमाङ राईको १२औँ एकल कविता वाचन कार्यक्रम आगामी नोभेम्बर २२ मा बेलायतको आशफोर्डमा आयोजना हुने भएको छ।

इकोज अफ पर्वत (Echoes of Parbat) को आयोजनामा हुने उक्त कार्यक्रम आइतबार दिउँसो १ बजे आशफोर्डस्थित गोडिन्टन भिलेज हलमा आयोजना गरिने आयोजकले जनाएको छ।

‘शब्दमा जीवन छ, कवितामा आत्मा छ’ भन्ने भावनासहित आयोजना हुन लागेको कार्यक्रममा कवि राईले गोर्खाली इतिहास, सैनिक जीवनका अनुभव, युद्धका पीडा, प्रवास र मानवीय संवेदनासँग सम्बन्धित आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नेछन्। कार्यक्रममा वीर चन्द्र राई (वि.सि. राई) ले गिटारको धुनमार्फत कवितालाई थप जीवन्त बनाउनेछन्।

नेपालका ११ स्थानमा एकल कविता वाचन

कवि राईले यसअघि नेपालका विभिन्न ११ स्थानमा एकल कविता वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेका छन्। इलामको फिक्कल र बजार, झापाको दमक र भिल्लभिल, धरान, भरौल, धनकुटा, भोजपुर बजार र पाल्तेपानी, दिक्तेल तथा काठमाडौंमा उनले एकल कविता वाचन गरिसकेका छन्।

नेपालका विभिन्न स्थानमा कविता सुनाउँदै आएका राईको एकल कविता वाचन यात्रा अब बेलायतमा विस्तार हुन लागेको हो। आशफोर्डमा आयोजना हुने कार्यक्रम उनको साहित्यिक यात्राको १२औँ अध्याय हुनेछ।

को हुन् कवि नरेश काङमाङ राई ?

साहित्यिक क्षेत्रमा ‘काङमाङ नरेश राई’ नामले परिचित उनको वास्तविक नाम नरेश मणि राई हो। भोजपुरको टेम्के मैयुङ गाउँपालिका–४, नागीमा जन्मिएका राईका पिता कृष्णबहादुर राई र माता कृष्णकुमारी राई हुन्।

सन् २००० मा बेलायती सेनामा भर्ती भएका उनी सन् २०१२ मा अवकाश लिएका थिए। सैनिक जीवनका अनुभव, युद्धका कठिनाइ, गोर्खालीको इतिहास र प्रवासमा भोगेका विविध अनुभूतिहरू उनका साहित्यिक सिर्जनाका प्रमुख विषयवस्तु हुन्। उनले २०४५ सालदेखि नै साहित्य लेखन सुरु गरेका थिए।

कविता, कथा र इतिहासका १० कृति

कवि राईका हालसम्म कविता, कथा, उपन्यास तथा इतिहास र संस्कृतिसम्बन्धी गरी १० वटा कृति प्रकाशित छन्।

उनका कविता संग्रहमा ‘आँशुको दोभान’ (२०६१), ‘अनुहारमा लुकाइएका चोटहरू’ (२०६२), ‘पप्पी फूल’ (२०७४) र ‘तेप्सायु’ (२०७८) रहेका छन्।

त्यस्तै, ‘युद्ध बोकेको सिताङ’ (२०६८), ‘खुकुरीको धारमा लाहुरेको युद्ध कथा र व्यथाहरू’ (२०७१) र ‘एघार नोभेम्बर’ (२०७६) उनका अन्य महत्वपूर्ण कृति हुन्।

इतिहास तथा संस्कृतिसम्बन्धी कृतिमा ‘फियरलेस वरियर’ (२०१५), ‘साखुङवारा किरात राई २२ भाषीहरूको जन्मदेखि मृत्यु संस्कार’ (२०७७) र ‘पानी पतिया गोर्खा सैनिकको इतिहास’ (२०८१) रहेका छन्।

विशेषगरी ‘पानी पतिया गोर्खा सैनिकको इतिहास’ पुस्तकले गोर्खा सैनिकको इतिहास, योगदान र पहिचानलाई अभिलेखीकरण गर्ने महत्वपूर्ण प्रयास गरेको छ।

विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित

साहित्य क्षेत्रमा पुर्‍याएको योगदानका लागि राई विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित भएका छन्। उनले २०७८ मा कवि विमल गुरुङ कृति पुरस्कार, २०८२ मा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा अन्तर्राष्ट्रिय पुरस्कार तथा २०८१ मा मनमाया बान्तवा स्मृति प्रतिष्ठानको स्रष्टा सम्मान पुरस्कार प्राप्त गरेका छन्।

त्यसैगरी, उर्वरा फाउन्डेसन, त्रिचन्द्र मल्टिपल क्याम्पस तथा अन्नपूर्ण माध्यमिक विद्यालयबाट समेत सम्मानित भएका छन्।

नेपाली साहित्यको संस्थागत विकासमा योगदान

लेखनका अतिरिक्त राई नेपाली साहित्यको संस्थागत विकासमा पनि सक्रिय छन्। उनी सन् २०१५ मा स्थापित पहिचान पुरस्कारका संस्थापक, भोजपुर प्रतिभा प्रतिष्ठानका संस्थापक सचिव तथा युद्ध साहित्य पुरस्कारका संस्थापकहरूमध्ये एक हुन्। प्रतिभा प्रतिष्ठान बेलायतका संस्थापक सचिवका रूपमा समेत उनले योगदान पुर्‍याएका छन्।

उनले ‘सीमाहीन बिम्बहरू’, ‘ग्रीनविचका प्रतिध्वनीहरू’, ‘युद्धमा हराएको प्रेम’, ‘गोर्खा वार पोयम’, ‘युद्ध साहित्य र सिद्धान्त’, ‘गोर्खा सत्याग्रह’, ‘गुरिल्ला गर्ल’ र ‘गोर्खा गन’ लगायतका कृति सम्पादन गरेका छन्। सन् २०१२ देखि २०१४ सम्म ‘ग्रीनविच टाइम्स’ म्यागजिनको कार्यकारी सम्पादकका रूपमा समेत काम गरेका थिए।

साहित्यप्रेमीलाई कार्यक्रममा सहभागी हुन आग्रह

आयोजक इकोज अफ पर्वतले बेलायतमा बसोबास गर्ने नेपाली साहित्यप्रेमी, गोर्खा परिवार, पूर्वगोर्खा सैनिक, विद्यार्थी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

गोर्खालीको इतिहास, सैनिक जीवनका भोगाइ, युद्धका पीडा र मानवीय संवेदनालाई कवितामार्फत सुन्न पाइने भएकाले कार्यक्रम नेपाली भाषा, साहित्य र संस्कृतिप्रति रुचि राख्नेहरूका लागि विशेष अवसर हुने आयोजकको अपेक्षा छ।

कार्यक्रम विवरण

  • मिति : २२ नोभेम्बर २०२६, आइतबार
  • समय : दिउँसो १ बजे
  • स्थान : गोडिन्टन भिलेज हल, लाउडन वे, आशफोर्ड, केन्ट, TN23 3JJ
  • आयोजक : इकोज अफ पर्वत (Echoes of Parbat)
  • संगीत : वीर चन्द्र राई (वि.सि. राई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *