सिड्नी। नेपाली कला, संस्कृति र तिहारको मौलिक परम्परालाई प्रवासमा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले सिड्नीको रकडेलमा आयोजना गरेको देउसी–भैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। भाइटीकाको अघिल्लो दिन, नोभेम्बर १० मंगलबार आयोजना गरिएको कार्यक्रममा नेपाली समुदायका साथै अन्य समुदायका व्यक्तिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
नेपालीहरूको बाक्लो बसोबास रहेको रकडेल क्षेत्रमा आयोजित कार्यक्रममा नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाका विभिन्न पदाधिकारी, स्थानीय सामाजिक अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, स्थानीय नेपाली बासिन्दा तथा गैरनेपाली समुदायका व्यक्तिहरू सहभागी भएका थिए। देउसी–भैलो, सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिसहित आयोजित कार्यक्रमले तिहारको उल्लासलाई प्रवासमा पनि जीवन्त बनाएको थियो। कार्यक्रममा सहभागीहरूले एकअर्कालाई तिहारको शुभकामना आदानप्रदान गर्दै नेपाली कला, संस्कृति र परम्पराको महत्त्वबारे चर्चा गरेका थिए। नेपाली समुदायका सदस्यसँगै अन्य समुदायका व्यक्तिहरूको सहभागिताले सांस्कृतिक आदानप्रदान, आपसी सद्भाव र सामुदायिक एकताको सन्देशसमेत दिएको थियो।
कार्यक्रममा विभिन्न व्यक्ति तथा संघसंस्थाबाट प्राप्त सहयोगमार्फत कुल १३ लाख रुपैयाँ सङ्कलन भएको समितिका सभापति शीतल गिरीले जानकारी दिएका छन्। समितिले अस्ट्रेलियाका सातवटै राज्यमा तिहारको अवसरमा देउसी–भैलो कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ। केही राज्यमा कार्यक्रम सम्पन्न भइसकेका छन् भने अन्य राज्यमा कार्यक्रम सञ्चालन हुन बाँकी रहेको जनाइएको छ।
सङ्कलित रकमको ३० प्रतिशत बाढीपीडित बालबालिकाको शिक्षामा
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले सातवटै राज्यमा आयोजना गरिने देउसी–भैलो कार्यक्रमबाट सङ्कलित कुल रकमको ३० प्रतिशत बाढीपीडित परिवारका बालबालिकाको शिक्षामा सहयोग गर्ने घोषणा यसअघि नै गरिसकेको छ। विपद्बाट प्रभावित बालबालिकाको पढाइलाई निरन्तरता दिन सहयोग पुर्याउने उद्देश्यले यो अभियान अघि बढाइएको समितिले जनाएको छ।
समितिले अस्ट्रेलियाका विभिन्न राज्यमा देउसी–भैलो कार्यक्रमसँगै सामुदायिक भेटघाट र भाइचारा अभिवृद्धिका गतिविधिसमेत सञ्चालन गरिरहेको छ। यस्ता कार्यक्रमले विदेशमा रहेका नेपालीबीच आपसी सम्बन्ध र एकता बलियो बनाउनुका साथै स्थानीय अस्ट्रेलियाली तथा अन्य समुदायसँगको सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास समितिले लिएको छ।
कार्यक्रम सफल बनाउन आर्थिक, नैतिक तथा विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्ति, संघसंस्था, कलाकार, स्वयंसेवक र सहभागी सबैप्रति सभापति गिरीले धन्यवाद तथा आभार व्यक्त गरेका छन्।
रकडेलमा सम्पन्न कार्यक्रमले नेपाली चाडपर्वलाई विदेशमा पनि सामूहिक रूपमा मनाउने परम्परालाई निरन्तरता दिँदै समुदायबीच आत्मीयता, सद्भाव र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने सन्देश दिएको छ।






