परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी नतिजा प्रकाशन गरेको हो । यसवर्ष परीक्षामा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । अघिल्लो वर्ष ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
यसवर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६ सय ८५, पुनः परीक्षामा एकलाख ४५ हजार एक सय ८३ तथा प्राविधिकतर्फ तीनहजार दुई सय ८८ सहभागी थिए । परीक्षा गतवर्ष ५ देखि १३ चैतसम्म सञ्चालन भएको थियो ।
नतिजा थाहा पाउन यसो गर्नुहोस –
नतिजा थाहा पाउन एसएमएस, आइभीआर र वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विद्यार्थीलाई नतिजा हेर्न सहज होस् भनेर यो व्यवस्था गरिएको हो ।
परीक्षा नियन्त्रक द्वारेका अनुसार इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् । त्यसको लागि SLC लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर ५५६६, १६००, ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ ।यस्तै १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।यसैगरी शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मा परीक्षाफल हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको वेवसाइट www.soce.gov.np मा परीक्षाफल हेर्न सकिनेछ । योसँगै www.slc.ntc.net.np, www.ncell.com.np मा परीक्षाफल हेर्न सकिनेछ । यसवर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने र श्रेणीकरण पद्धतिबाट हुने नियन्त्रक द्वारेले बताए ।






