लन्डनमा बीएनसीसीको आयोजनामा पर्यटन मन्त्री पौडेल र सांसद झासँग अन्तरक्रिया

लन्डन । बेलायत भ्रमणमा रहेका नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गणेश) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं नेपाल–बेलायत संसदीय समूहका अध्यक्ष मनीष झासँग लन्डनमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) को आयोजनामा मंगलबार लन्डनको इलिङ ब्रोडवेस्थित मोन्टीज रेस्टुरेन्टमा रात्रिभोजसहित अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।

वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलायत आएका मन्त्री पौडेल र सांसद झासँग आयोजित कार्यक्रममा नेपाल–बेलायतबीचको व्यापारिक सम्बन्ध विस्तार, व्यवसाय प्रवर्द्धन तथा सहकार्यका सम्भावनाबारे गहन छलफल भएको थियो।

विशेषगरी बेलायतमा रहेका नेपाली व्यवसायी तथा लगानीकर्तामार्फत नेपालमा वैदेशिक लगानी भित्र्याउन आवश्यक सहजीकरण र सहयोगका लागि  आग्रह गरिएको थियो।

बीएनसीसीका अध्यक्ष बिराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री पौडेल र सांसद झाले सहभागीहरूसँग नेपाल र बेलायतबीचको व्यापार, पर्यटन तथा आर्थिक सम्बन्ध विस्तारका विषयमा धारणा राखेका थिए। कार्यक्रममा सहभागी व्यवसायी तथा समुदायका प्रतिनिधिहरूले पनि आफ्ना जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए।

बीएनसीसीका उपाध्यक्ष इन्द्र गिरीले सञ्चालन गरेको कार्यक्रममा बीएनसीसीका पूर्वअध्यक्ष राजन कँडेललगायत बेलायतमा रहेका नेपाली व्यवसायी, प्रविधि क्षेत्रका विज्ञ, विभिन्न पेसाकर्मी तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बीएनसीसीका अध्यक्ष भट्टले सहभागी सबैलाई धन्यवाद दिँदै नेपाल र बेलायतबीच व्यापार तथा व्यवसाय प्रवर्द्धन र सहजीकरणमा चेम्बरले निर्वाह गर्दै आएको भूमिकाबारे प्रकाश पारेका थिए।

यसैबीच, बेलायत भ्रमणका क्रममा मन्त्री पौडेल र सांसद झाले बेलायती सांसद तथा राजनीतिज्ञहरूसँग भेटघाट गर्नुका साथै नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम रहेको छ।

त्यसैगरी, नोभेम्बर ४ तारिख बुधबार लन्डनस्थित नेपाली राजदूतावासमा आयोजना हुने स्वागत कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल सांसद झा सहभागी हुने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *