लण्डन।बेलायतमा ‘सुम्निमा सांगीतिक साँझ गरिने भएको छ। रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आगामी अक्टोबर ९ तारिखमा अल्डरशटस्थित एम्पायर हलमा आयोजना हुने जनाइएको छ।
कार्यक्रमको आयोजना लुङ्टो क्रिएसन,सुम्निमा इभेन्ट, ईफ्लेक्स इन्टरटेनमेन्ट र INAS UK को संयुक्त आयोजना तथा बेलायतमा रहेर सफल व्यवसाय गर्दै आउनु भएका व्यवसायी सचिन बुढाथोकी र रमेश श्रेष्ठ रहेका छन्
कार्यक्रममा चर्चित नेपाली कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।कार्यक्रममा मेलिना राई, द भ्वाइस अफ नेपाल सिजन ६ का फाइनलिस्ट तथा उपविजेता रोशन राई लगायत अन्य चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। सुशील नेपालले कार्यक्रम सञ्चालन गर्नेछन् भने नेपालबाट कलाकारहरूको समन्वय ईफ्लेक्स इन्टरटेनमेन्टका प्रोप्राइटर अजेश पौडेलले गरिरहेका छन्।
कार्यक्रम साँझ ४ बजेबाट प्रवेश खुला गरिने र ६ बजेदेखि सांगीतिक प्रस्तुति सुरु हुने पोस्टरमार्फत जानकारी दिइएको छ।
कार्यक्रमबाट प्राप्त आम्दानीको ५ प्रतिशत भोटेकोशी बाढीपीडित परिवारलाई सहयोग गर्ने आयोजकहरूले प्रतिबद्धता जनाएका छन्।
यस मानवीय कार्यमा सहभागी भई सहयोग गर्न बेलायतमा रहेका नेपाली समुदायलाई आयोजकले आग्रह गरेका छन्। कार्यक्रममा विभिन्न संघसंस्था तथा समुदायका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
सुम्निमा इभेन्ट्सले नेपाली कला, संस्कृति र संगीतमार्फत सामाजिक सहयोगका कार्यलाई निरन्तरता दिँदै आएको बताउँदै यसपटकको कार्यक्रम पनि राहत सहयोग केन्द्रित हुने जनाएको छ।






