घान्द्रुक समाज यूकेद्वारा बाढी–पहिरो पीडित राहतका लागि गृहमन्त्री सुदन गुरुङमार्फत ७ लाख ५० हजार हस्तान्तरण

लन्डन । नेपालको भोटेकोशीमा गएको विनाशकारी बाढी तथा पहिरोपीडितहरूको राहतका लागि घान्द्रुक समाज यूकेले रु ७ लाख ५० हजार सहयोग प्रदान गरेको छ।

उक्त रकम समाजका पूर्व अध्यक्ष अर्जुन गुरुङ र सदस्य राज बहादुर गुरुङ नेपाल पुगेर गृहमन्त्री सुदन गुरुङमार्फत सहयोग रकम हस्तान्तरण गरेका हुन्।

समाजले दुःखको यस घडीमा पीडितहरूसँग ऐक्यबद्धता जनाउँदै सहयोग गरेको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गराएको समाजका अध्यक्ष देब बहादुर गुरुङले बताए।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी जलप्रलय र त्यसले पुर्‍याएको ठूलो मानवीय तथा भौतिक क्षतिलाई मध्यनजर गर्दै बेलायतमा रहेका घान्द्रुकवासीहरूले राहत रकम संकलन गरेका हुन्।

सहयोग रकम हस्तारण गर्दै घान्द्रुक समाज यूकेका पूर्वअध्यक्ष अर्जुन गुरुङले जन्मभूमिमा विपत्ति पर्दा प्रवासमा रहेका नेपालीहरू चुप लागेर बस्न नसक्ने बताए। उनले भने, “हाम्रो सानो प्रयासले बाढी तथा पहिरोपीडित परिवारहरूको घाउमा केही भए पनि मलम लगाउन सकोस् भन्ने उद्देश्यले यो सहयोग संकलन गरेका हौँ।”

समाजका सदस्य राज बहादुर गुरुङ ले दुःखको यस घडीमा एकअर्कालाई सहयोग गर्नु नै नेपालीको पहिचान भएको उल्लेख गरे।

गृहमन्त्री सुदन गुरुङसँग भएको भेटवार्तामा पूर्व ब्रिटिश गोर्खा सैनिकहरूका आफ्ना दीर्घकालीन समस्या तथा मागहरूबारे ध्यानाकर्षण गराएका छन्।

गृहमन्त्री सुदन गुरुङले प्रतिनिधिहरूले उठाएका विषयहरूलाई गम्भीरतापूर्वक लिइने आश्वासन दिँदै सम्बन्धित सरोकारवाला निकायसँग छलफल अघि बढाउन पहल गर्ने बताएका थिए।

सहयोग सकलन संयोजक एबम काउन्सिलर समाजसेवी ज्ञानप्रसाद गुरुङले भने “भोटेकोशीमा आएको जलप्रलयले पुर्‍याएको क्षति अत्यन्त हृदयविदारक छ। प्रवासमा रहे पनि देशप्रतिको उत्तरदायित्व सम्झेर हामीले यो रकम कोषमार्फत पीडितसम्म पुर्‍याउने प्रयास गरेका हौँ।”

घान्द्रुक समाज यूकेले विगतदेखि नै नेपालमा आउने विभिन्न प्राकृतिक विपत्ति तथा सामाजिक कार्यहरूमा निरन्तर सहयोग गर्दै आएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *