सिड्नी । नेपालमा हालै आएको विनाशकारी विपद्बाट प्रभावितप्रति ऐक्यबद्धता, सहानुभूति र सहयोग व्यक्त गर्ने उद्देश्यले सिड्नीको ग्लेनवुडमा ‘Voices for Nepal – Poetry of Solidarity and Hope’ कार्यक्रम सम्पन्न भएको छ।
We Australians Are Creative Incorporated (WAACI) र International Nepali Literary Society (INLS NSW) को संयुक्त आयोजनामा मारिगोल्ड हल, ग्लेनवुड कम्युनिटी हबमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक समुदायका कवि, सामाजिक अगुवा तथा स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सुरुवात विपद्मा ज्यान गुमाउनेहरू तथा प्रभावित सबैको स्मरणमा एक मिनेट मौनधारणबाट गरिएको थियो।कार्यक्रममा INLS NSW की अध्यक्ष भावना पराजुलीले नेपाल र अष्ट्रेलियामा रहेका नेपाली समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै विपद्को कठिन समयमा नेपाल एक्लो नरहेको सन्देश दिएकी थिइन्। WAACI का बोर्ड सदस्य अब्बास रजा अल्वीले मानवीय संकटका बेला सहकार्य, करुणा र सामूहिक सहयोगको महत्वबारे धारणा राखेका थिए।
कार्यक्रममा ब्ल्याकटाउन सिटी काउन्सिलका काउन्सिलर मोहित कुमार, काउन्सिलर सुसेई बेन्जामिन र काउन्सिलर मोनिन्दर सिंह तथा क्याम्बेलटाउनका काउन्सिलर मसुद खलिललगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बहुसांस्कृतिक कविता सत्र कार्यक्रममा विशेष आकर्षण बनेको थियो। नेपाली, अंग्रेजी, हिन्दी, उर्दू, पञ्जाबी, बंगाली, तेलुगु तथा भुटानी समुदायका कविहरूले कविता प्रस्तुत गर्दै विपद्को पीडा, स्मरण, आशा, सहनशीलता र ऐक्यबद्धताको भाव व्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न समुदायका अगुवाहरूले समेत नेपालप्रति समर्थन र सहानुभूति व्यक्त गर्दै कठिन समयमा बहुसांस्कृतिक समुदायबीचको एकता र सहयोग आवश्यक रहेको बताएका थिए। कार्यक्रमसँगै नेपालमा राहत तथा पुनःस्थापनाका लागि सहयोग संकलनसमेत गरिएको थियो। च्यारिटी बक्समार्फत सहयोग संकलन गर्नुका साथै नेपाल प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सहभागीहरूलाई जानकारी दिइएको थियो। सहभागीहरूले उत्साहपूर्वक सहयोग गरेका थिए।
कार्यक्रमको समापनमा INLS NSW का सल्लाहकार सौरभ किरण श्रेष्ठले छोटो समयमै कार्यक्रमका लागि जुटेका आयोजक, कलाकार, कवि, स्थानीय अगुवा तथा विभिन्न बहुसांस्कृतिक समुदायका प्रतिनिधिप्रति धन्यवाद व्यक्त गरेका थिए। उनले विपद्को समयमा देखिएको सामूहिक प्रतिक्रिया मानवता, करुणा र ऐक्यबद्धताको उदाहरण भएको बताए।कार्यक्रमलाई ब्ल्याकटाउन सिटी काउन्सिल, नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान, मुशायरा परिवार, नाई एकेडेमी अष्ट्रेलिया, ब्ल्याकटाउन नेपालीज कम्युनिटी–अष्ट्रेलिया तथा एसोसिएसन अफ भुटानीज इन अष्ट्रेलियालगायत विभिन्न संस्था तथा समुदायले सहयोग गरेका थिए।






