लण्डनमा देखियो गुल्मीको शक्ति! १८औँ भेटघाटमा उर्लियो जनसागर, संस्कृतिले जित्यो मन

लण्डन — बेलायतस्थित गुल्मेलीहरूको साझा संस्था गुल्मी जिल्ला समाज यूके द्वारा आयोजित १८औँ वार्षिक भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। अगस्ट २, आइतबार फेल्थामस्थित ट्युडोर पार्क मैदान परिसरमा आयोजना गरिएको उक्त कार्यक्रममा झण्डै १५ सयभन्दा बढी नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी गुल्मेली तथा गैर–गुल्मेली नेपालीहरूले प्रस्तुत गरिएका विविध सांस्कृतिक कार्यक्रमलाई नेपालको गाउँघरको पाखा–पखेरा झल्काउने जीवन्त उदाहरणका रूपमा व्याख्या गरेका थिए। कार्यक्रममा नेपालको मौलिक कला, संस्कृति र परम्परालाई समेट्ने विभिन्न प्रस्तुतीहरू प्रस्तुत गरिएको थियो।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको गुल्मेली नौमती बाजाको लाइभ धुनसँगै नेपालबाट आएका कलाकारहरूको लोक प्रस्तुतीमा सहभागीहरू झुमेर नाचेका थिए। खुला चौरमा विशेषगरी गुल्मी क्षेत्रमा प्रचलित तीज गीत, गुल्मेली झ्याउरे, ठाडो भाका तथा सालैजो जस्ता मौलिक सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएका थिए, जसमा दर्शकहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

समाजकी अध्यक्ष मञ्जु भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लण्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दबाडी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। आफ्नो मन्तव्यमा उनले गुल्मेली समुदायको उल्लासमय उपस्थिति तथा परोपकारी गतिविधिको प्रशंसा गर्दै गुल्मी कला र संस्कृतिको क्षेत्रमा अग्रणी जिल्ला भएको उल्लेख गरे। साथै, उनले स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन नै पहिचान र समृद्धिको आधार भएको बताए।

पशुपतिनाथ मन्दिरका मूल पण्डित निलहरि घिमिरे सहित आनन्दराज लोहनी, बासुदेव सापकोटा, पण्डित बिनोद पन्थी र पण्डित थानेश्वर पाण्डेद्वारा विशेष रूपमा विधिपूर्वक पूजा–पाठ सम्पन्न गरिएको थियो ।

समाजकी अध्यक्ष मञ्जु भण्डारी खरेल र प्रमुख अतिथि राजदूत विपिन दबाडीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए, जसमा उपाध्यक्ष रिटायर्ड क्याप्टेन ताम ढेगाले साथ दिएका थिए।

संस्थाका संस्थापक अध्यक्ष ओमप्रकाश थापा काउछाले गुल्मी जिल्ला समाज यूकेले सबै गुल्मेलीलाई एकताबद्ध गर्दै दुःख–सुखमा साथ दिने संस्थाको रूपमा स्थापित भएको बताए। उनले यस संस्थाले अन्य संघ–संस्थाका लागि समेत उदाहरण प्रस्तुत गरेको उल्लेख गरे।

कार्यक्रममा समाजका सल्लाहकार एबम एनआरएन यूके अध्यक्ष प्रेम गाहा मगरले समाजले बेलायतमा प्रस्तुत गर्दै आएको नेपाली संस्कृति र एकताको भावना सराहनीय रहेको बताए ।

महासचिव महलाल घिमिरेद्वारा सञ्चालन गरिएको कार्यक्रममा उपाध्यक्षले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सचिव राधा खरेलको संयोजनमा कार्यसमितिले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन सक्रिय भूमिका निर्वाह गरेको थियो।

कार्यक्रममा लोकप्रिय गायक प्रकाश दुतराज तथा ‘द भ्वाइस अफ नेपाल’ सिजन–६ का विजेता प्रोसेश पाण्डे लगायतका चर्चित कलाकारहरूले विशेष सांगीतिक प्रस्तुती दिएका थिए। साथै, सम्झना भण्डारी, पूनम गुरुङ, सरिस्मा मगर लगायत कलाकारहरूको प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रममा गुल्मेली पञ्चेबाजा, नेपाली सांस्कृतिक झाँकी, बालबालिकाका रमाइला गतिविधि तथा अन्य विविध कार्यक्रमहरू पनि समावेश गरिएको थियो। साथै, आकर्षक पुरस्कारसहितको राफल ड्र कार्यक्रमले सहभागीहरूको उत्साह थप बढाएको थियो।

भेटघाट कार्यक्रमका संयोजक एवं समाजका उपाध्यक्ष रिटायर्ड क्याप्टेन ताम ढेगाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्। कार्यक्रमको दोस्रो चरणअन्तर्गतका सांस्कृतिक प्रस्तुतीहरू सांस्कृतिक संयोजक तथा मोडेल दीपक थापा मैथाने मगर र सुजु शेर्पा पौडेलले सञ्चालन गरेका थिए।

आयोजक समितिका सह–संयोजक एवं समाजका पूर्व अध्यक्ष वीर बलालले कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताएका छन्।

समाजका महासचिव महलाल घिमिरेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, स्वयंसेवक तथा बेलायतस्थित नेपाली समुदायप्रति धन्यवाद व्यक्त गरेका छन्। अध्यक्ष मञ्जु भण्डारीले यस वार्षिक भेटघाटले गुल्मेली तथा नेपाली समुदायबीचको सम्बन्ध, सहकार्य र सांस्कृतिक एकतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सबैप्रति आभार व्यक्त गरिन्।

समाजका कोषाध्यक्ष अर्जुन बस्नेतले पनि कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूलाई धन्यवाद दिएका छन्।

टिकट व्यवस्थापनमा अर्जुन बस्नेत, बसन्त खनाल, सूर्य विक्रम के.सी., हरि अर्याल र निर्मल पौड्याल, हल सजावट तथा व्यवस्थापनमा लक्ष्मण पौडेल र सुधीर गौतम, राफल व्यवस्थापनमा गीता काफ्ले, समग्र स्वयंसेवकको भूमिकामा संगिता मगर तथा समग्र व्यवस्थापनमा देव रानाले महत्वपूर्ण योगदान गरेका थिए।राफल ड्र’ कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजकहरूप्रति समाजले विशेष आभार व्यक्त गरेको छ।

कार्यक्रममा नेपाली खानपानको व्यवस्थापन रारा रेस्टुरेन्ट द्वारा गरिएको थियो, जहाँ बार्बीक्यूसहितको तीन कोर्स भोजनले सहभागीहरूको विशेष प्रशंसा बटुलेको थियो।

कार्यक्रममा गुल्मीका पूर्व अध्यक्षहरू अर्जुन गौतम, राम गलामी, टोप पल्ली, वीर बलाल, रुद्र थापा लगायत बेलायतभरका प्रमुख नेपाली संघ–संस्था तथा समुदायका प्रतिनिधिहरूलाई अतिथिका रूपमा निम्त्याइएको थियो

सन २००७ मा बेलायतमा स्थापना भएको गुल्मी जिल्ला समाज यूकेले नेपालको गृह जिल्ला लगायत विभिन्न स्थानहरूमा सञ्चालन गर्दै आएको परोपकारी कार्यका कारण एक उदाहरणीय संस्थाका रूपमा परिचित छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *