लन्डनको पशुपतिनाथ मन्दिरमा तीन दिने महायज्ञ सम्पन्न (भिडियो सहित)

फडिन्द्र भट्टराई,

४५ लाख रुपैया संकलन
साउन ४, २०७२, लण्डन । नेपालका भुकम्प पीडितका लागि शान्तिको कामना गर्दै साउथ ईस्ट लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा सम्पन्न तीन दिने महायज्ञ सम्पन्न भएको छ । महायज्ञमा २८ हजार पाउण्ड (झन्डै ४५ लाख रुपैया ) चन्दा संकलन समेत भएको छ । नेपाली समुदायबाट स्थापित युरोपकै पहिलो यो हिन्दू मन्दिरको पांचौ वार्षिकोत्सवका अवसरमा महायज्ञ आयोजना गरिएको हो । गत शुक्रबार सुरु भएको महायज्ञ पुजा पाठ, प्रवचन, भजन कृतन लगाएतका बिबिध कार्यक्रमहरु गर्दै आइतबार समापन भएको छ । उक्त महायज्ञमा बेलायतका बिभिन्न क्षेत्रबाट हजारौ नेपालीहरु सहभागी भएका छन ।

maha yagye

उक्त अवसरमा चन्दा दाताहरुलाई सम्मान समेत गरिएको थियो । ५हजार पाउण्ड भन्दा माथिको सहयोग गर्नेहरु स्थानीय कृष्ण क्षेत्री (५ हजार ५ सय ), पत्रकार फडिन्द्र भट्टराई ( ५ हजार १ सय ५१ ), ब्यावसायी दिपक श्रेष्ठ ( ५ हजार ), र मिलन भट्टराई ( ५ हजार ) मन्दिरको ट्रस्टी समुहमा प्रवेश गरेको जानकारी दिइएको छ । आयव्ययको पूर्ण बिवरण पश्चात संकलित रकमको अंश नेपालमा भूकम्पले क्षति पुगेका ऐतिहासिक मन्दिरको पुनर्स्थापना तथा जिर्णोद्वारमा लगाईने आयोजकहरुले बताएका छन ।

महायज्ञको पहिलो दिन पण्डित निलहरी घिमिरे र मन्दिर समितीका अध्यक्ष होम शर्माले मन्दिरको गेटमा रिबन काटेर उद्घाटन गरेपछि मन्दिर भित्रको सामुहिक संकल्प बाट शुरु भएको यज्ञमा नवग्रह पुजा, सत्य नारायण पुजा , रुद्राभिषेक, रुद्री बेद चण्डी बाचन, सामुहिक पुर्णाहुति जस्ता बैदिक कार्यक्रम संचालन भएको जानकारी महायज्ञ संयोजक पण्डित निलहरी घिमिरेले दिए ।

त्यसैगरी प्रत्येक दिनको सामुहिक आरती. प्रसाद वितरण पश्चातको सांस्कृतिक भजन कृतन, नाचगान आकर्षक देखिन्थे । अन्तिम दिनको कार्यक्रममा गुरुकुललका आमन्त्रित साधुहरु भक्त बत्सल स्वामी तथा भक्ति बेदान्त स्वामी द्वारा पुर्णाहुति बिशेष हवन पश्चात प्रवचन दिइएको थियो भने प्रत्येक दिन साँझ लक्षबर्ती प्रज्वलन गरिएको थियो । कार्यक्रममा चार जना पण्डितहरु निलहरी घिमिरे, कमल लुईटेल, बिनोद पन्थी र दधिराम काफ्ले द्वारा पुजा संचालन गरिएको थियो । त्यस्तै मन्दिरभित्रको देवालयको सरिता पौडेल, तुलसा शर्मा लगायतका महलिाबाट उदघाटन गरिएको छ ।

सपरीवार महायज्ञमा पुगेका बेलायतवासी नेपालीहरु यो बिशेष पुजा आजाको माहोलमा निकै रमेका देखिन्थे ।पुजामा मात्रै केन्द्रित हुने भन्दा पनि नया पुस्ताका केटाकेटीलाई हाम्रो संस्कार र परम्परामा घुलमिल गराउने अवसरको रुपमा यस्तो कार्यक्रमको महत्व रहेको कुरा महायज्ञमा पुगेका अधिकांश सहभागीले बताएका छन।महायज्ञको आन्तरिक व्यवस्थापनमा महिला स्वयंसेविकाहरुको बिशेष सक्रियता देखिन्थ्यो ।
बेलायतमा बस्ने नेपालीहरु भावी पुस्तालाई आफ्नो धर्म र संस्कार प्रति कसरी जोडी राख्ने भन्ने तर्फ केन्द्रित रहदै आफ्नो परम्परा अनुसारका यस्ता कार्यक्रम हरु आयोजना गर्ने गरेको पाईन्छ ।

नेपालका धार्मिक पर्वहरुमा बिशेष पुजा संचालन हुने यो लण्डनको नेपाली मन्दिरमा आवासीय पुजारीले दैनिक नित्य पुजा समेत संचालन गर्दै आएका छन । मन्दिरमा दशैँ तिज लगायतका चाडपर्वमा स्थानीय नेपालीहरुको घुईचो लाग्ने गरेको छ ।