लण्डन । चितवन एड ट्रस्ट क्याट यूकेमा बसन्त श्रेष्ठको नेतृत्वमा नयां कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न छैंटौं अधिवेसनले श्रेष्ठको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा बनाएको हो । श्रेष्ठ यसअघि क्याटका उपाध्यक्ष थिए ।
नयां कार्यसमितिमा सुर्य तामांग वरिष्ठ उपाध्यक्ष बनेका छन भने सुनिल खडका, रितेश पाण्डे, देवेन्द्र श्रेष्ठ र भगवति रानाभाटले उपाध्यक्षको जिम्मेवारी पाएका छन । त्यसैगरी यादव श्रेष्ठ सचिव, जिवन सेन सहसचिव, समिर खनाल कोषाध्यक्ष र तारा पौडेल सहकोषाध्यक्ष चुनिएका छन ।
सदस्यहरुमा भने मुना पौडेल, राम भट्टराई, दिपेन्द्र अधिकारी, विनय अधिकारी, आनन्द धरेल, शालिक सापकोटा, हरिकृष्ण पौडेल र पार्वति न्यौपाने छन । नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले पद तथा गोपनियताको सपथ ग्रहण गराएको छ । नयां नेतृत्व चयनका लागि राजेन्द्र खरेल, लोक गुरुंग, कमल पौडेल र टिका पौडेल सम्मिलित निर्वाचन समिति गठन गरिएको थियो ।
क्याटको एघारौं वार्षिकोत्सव तथा छैटौं अधिवेसनको विशेष कार्यक्रम साउथ ईस्ट लण्डनको एबिउडस्थित लेकसाइड कम्प्लेक्समा आयोजना गरिएको थियो । एनआरएन यूके अध्यक्ष महेन्द्र कंडेल र क्याटका सस्थापक अध्यक्ष कपिल श्रेष्ठले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरेका थिए ।
अध्यक्ष कृष्ण गुरुंगको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा तमु धिका अध्यक्ष रामचन्द्र सुर्जे गुरुंग, पूर्व अध्यक्ष तथा एनआरएन यूकेका अध्यक्ष उम्मेदवार मुछेत्र गुरुंग, पत्रकार महासंघ यूके अध्यक्ष चिरन शर्मा, कपिलवस्तु समाजका दिपक श्रेष्ठ एनआरएन आइसीसी सदस्य बिनोद ज्ञवाली लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीको उपस्थिति थियो ।
पहिलो चरणको औपचारिक सत्रपछि कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । निरमाया रोधिघरका कलाकारहरुको दोहोरीसंगै विभिन्न स्थानीय कलाकारका गीत, नृत्य तथा डिजे प्रस्तुतिमा सहभागीले रमाउने मौका पाए ।
चितवनका विपन्न समुदायमा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विभिन्न सहयोग पुरयाउंदै आएको क्याट यूकेले भुकम्प पीडितको सहयोगार्थ पनि अहिलेसम्म २२ हजार पाउण्ड संकलन गरिसकेको छ ।
चितवनको कविलास गाविससिथत ढोडेनी प्राविको भवन पुननिर्माणका लागि २२ लाखको परियोजना बनाएको छ । जसमा क्याटका निवर्तमान उपाध्यक्ष कृष्ण तिवारीले ३ लाख, क्याटका सदस्यबाट ५ लाख र संस्थाबाट १४ लाख सहयोग रहनेछ ,क्याटले भूकम्प पीडित पत्रकार कोषका लागि सभाले करिब ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरेको छ ।






