लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतले आफ्नो कोष अभिवृद्धिसँगै प्रवासमा नेपाली पहिचान र वंशजको नागरिकताको मुद्दालाई मुख्य एजेन्डा बनाएर ‘च्यारिटी डिनर नाइट’ सम्पन्न गरेको छ।”
अल्डरसटस्थित एम्पायर हलमा आइतबार आयोजित उक्त विशेष समारोहमा वक्ताहरूले बेलायतमा हुर्किएको नयाँ पुस्तालाई भाषा-संस्कार हस्तान्तरण गर्नुपर्ने र नेपाल सरकारले गैरआवासीय नेपालीको नागरिकता अधिकारमा खेलवाड गर्न नहुनेमा जोड दिएका छन्।
नेफिन यूकेका अध्यक्ष मेजर योगेश राईले लण्डन नेपाल न्यूज सँगकार्यक्रबारे प्रतिक्रिया दिँदै भाषा, संस्कृति र अधिकार संरक्षणका लागि सहयोग पुगोस् भनेर च्यारिटी डिनर आयोजना गरिएको बताए ।
बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा राजदूत दुवाडीले भने– “आदिवासी जनजातिहरूले बेलायतमा आफ्नो भाषा, भेषभूषा र गरगहना जोगाएर नेपाललाई विश्वमा चिनाइरहनुभएको छ। नेपाल सरकार आदिवासी जनजातिका मुद्दामा गम्भीर छ र नयाँ सरकारले यी अधिकारका लागि ठोस काम गर्नेमा म विश्वस्त छु।”
वंशजको नागरिकताबारे चर्चा गर्दै संस्थापक अध्यक्ष थर्क रानाले बेलायतमा रहेका गोर्खाहरुको वंशजको नागरिकता खोस्ने जोखिम बढेको भन्दै यसलाई सरकारले छिटो व्यवस्था गर्नुपर्ने माग राखे ।
च्यारिटी डिनर कार्यक्रमलाई एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए आइसीसी उपाध्यक्ष विश्वासदीप तिगेला, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, किरात राई यायोख्या यूकेका अध्यक्ष मेजर रि. तिलबहादुर राई, किरात याक्थुङ चुम्लुङ यूके अध्यक्ष कमला लिम्बु, सुनुवार वेलफेयर सोसाइटी यूके अध्यक्ष आकाश सुनुवार, मगर संघ यूके अध्यक्ष लालबहादुर पुन, नेफिन यूकेका निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पा र वरिष्ठ सल्लाहकार भक्त दुरा लगायतले सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा वक्ताहरूले बेलायतमा नेपाली पहिचान, भाषा र संस्कृतिको जगेर्ना गर्नुपर्ने, नयाँ पुस्तालाई संस्कार हस्तान्तरण गर्नुपर्ने र प्रवासमा रहेका नेपालीहरूको वंशजको नागरिकताको निरन्तरताका लागि एकजुट भएर सशक्त आवाज उठाउनु पर्नेमा विशेष जोड दिएका थिए।
कार्यक्रममा मेजर रि. इन्द्रप्रसाद राईले स्वागत मन्तव्य राखेका थिए ।
महासचिव फारामबहादुर दुराले सञ्चालन गरेको औपचारिक सत्रमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
जातीय संस्थाहरुका प्रमुख, नवनिर्वाचित काउन्सिलरहरु, शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तित्वहरु, सामाजिक अभियन्ताहरु, कलाकारहरु, मिडियाकर्मीहरुलाई प्रमुख अतिथि कार्यवाहक राजदूत दुवाडी र नेफिन यूके अध्यक्ष मेजर योगेश राईले सम्मान प्रदान गर्नुभएको थियो ।
नेपालबाट आएका चर्चित कलाकारहरू मञ्जु बिक, अस्मिता रानामगर, निरा थापा मगर, सोनी कुँवर क्षेत्री, ललिता पुन मगर, सरिष्मा रम्जाली मगर र निरुता पुनले सांगीतिक प्रस्तुति दिएका थिए।






