सिड्नी ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्स च्याप्टरको ८औं साधारण सभा तथा १५औं स्थापना दिवस २५ अप्रिलका दिन सिड्नीमा भव्य रूपमा सम्पन्न भएको छ। सोही अवसरमा “अष्ट्रेलिया दर्पण” नामक साहित्यिक कृतिको लोकार्पण समेत गरिएको थियो। साधारण सभाले भावना पराजुलीलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ।
कार्यक्रम अनेसास NSW का निवर्तमान अध्यक्ष डा. प्रकाश पौडेलको सभापतित्व तथा अनेसास केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको सुरुवात दीप प्रज्वलन र राष्ट्रिय गानसँग गरिएको थियो भने प्रमुख अतिथि तथा अन्य अतिथिहरूले संयुक्त रूपमा “अष्ट्रेलिया दर्पण” कृतिको विमोचन गरेका थिए।
नवगठित कार्यसमितिमा उपाध्यक्षमा डा. राजु मानन्धर, महासचिवमा नगेन्द्र भट्टराई, सचिवमा नेत्रप्रसाद पौडेल, कोषाध्यक्षमा प्रेक्षा कंडेल र पब्लिक अफिसरमा सरोज पाण्डे चयन भएका छन्। सदस्यहरूमा बालकृष्ण बस्याल, सितु श्रेष्ठ, दयाराम सिम्खडा र महिमा दीप फुल्लेल रहेका छन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लालगोपाल सुवेदीले अष्ट्रेलियाभरका सर्जकहरूलाई समेटिएको “अष्ट्रेलिया दर्पण” कृतिले प्रवासमा नेपाली साहित्यको उचाइ बढाएको बताए। अन्य वक्ताहरूले अनेसासले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा पुर्याएको योगदानको चर्चा गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
निवर्तमान अध्यक्ष डा. प्रकाश पौडेलले आफ्नो कार्यकालमा सम्पन्न विभिन्न गतिविधिहरूको स्मरण गर्दै नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गरेका थिए। नव–निर्वाचित अध्यक्ष भावना पराजुलीले सबैको सहकार्यमा संस्थालाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। कार्यक्रममा बाल प्रतिभाहरूको प्रस्तुति, चित्रकला प्रदर्शनी तथा विभिन्न सांस्कृतिक गतिविधिहरू पनि समावेश गरिएको थियो। कार्यक्रममा एनएसडब्लु संयोजक उषा किरण बरिया पोखरेल, नारी निकुञ्ज एनएसडब्लु संयोजक आशा श्रेष्ठ , कलाकार तथा मोडल जेनिसा गौतम साथै, विभिन्न संस्थाका प्रतिनिधि, साहित्यकार, कलाकार तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।







