शिब भण्डारी
लण्डन,
रसमोर बरोलाई मिनी नेपाल ठान्नेहरु अत्यधिक छन् । भूपू गोर्खा र तिनका परिवारले आवासीय अधिकार पाएपछि बांक्लिदो नेपाली वस्तीले नेपाल भन्दा फरक केही लाग्दैन । नेपालकै खाद्य सामाग्री यत्रयत्र पसलमा उपलव्ध छन् । नेपाली रेष्टुरेन्ट झांगिदो छ । यही क्षेत्रमा नेपालको पहिचान दिइरहेको छ निरमाया रोधीघरले । 
यसले नेपालीलाई रोजगारीमात्र दिएको छैन्, नेपालको मौलिक कला, संस्कृति जिवन्त राखिरहेको छ भने विदेशीमाझ आफ्नो पहिचान दिलाइरहेको छ ।
सायद यसका सञ्चालक गणेश गुरुङको शैक्षिक योग्यताले पनि होला, निरमाया केवल व्यापारिक प्रयोजनका लागि चलेको छैन् । बेलायत आउनु अघि नै नेपालबाट एमबीए र कानुनमा एलएलबी सिध्याएका उनले सन् २००६ मा बेलायत आएपछि लिड्स युनिभर्सिटीबाट एमएससी समेत गरे । तीन तीनवटा डिग्री होल्डर उनले विगत पांच वर्षदेखि नेपाली रोधीघर रेस्टुरेण्ट सञ्चालन गरिरहंदा निरमायाका ज्ञान भएका रमेशबाबु श्रेष्ठको भेट पनि अविश्वमरणीय रहेको बताउँदै,यसलाई एउटा जमघटको स्थल पनि बनाए। औधि कार्यक्रम हुन्छन् यहां ।कलासंस्कृतिलाई जिवन्त राखिराखे,
यस पंक्तिकार विकेन्डमा त्यहां पुग्दा ग्राहकहरुलाई स्वागत गर्दै उस्तै नामका गायक गणेश गुरुङ स्टेजमा उत्रन्छन् ।नमस्ते म गणेश गुरुङ ।’ उनको साथमा दुई महिला कलाकारहरु समेत नेपाली गुन्यो चोलीमा पहेंलो पोते लर्काएर स्टेजमा झुल्किंदा माहोल तातिन थाल्छ । आ आफैंले हामीहरू दुर्गा परियार, नीता पुन भनेर परिचय दिनासाथ गीत सुरू भइहाल्यो,
‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ, ….।’ एक पछि अर्को दोहोरी र लोक गीत गाउने क्रममै कलाकारकै रूपमा गायक बद्री केसी पनि झुल्किए ।
‘म आफैं पनि सानैदेखि गाउने बजाउनेतिर रूचि राख्ने मान्छे’, तीन तीनवटा डिग्री बोकेका सञ्चालक गणेश गुरुङले रोधीघरतर्फ किन लाग्नु भयो भन्ने जिज्ञासा राख्न नपाउंदै प्रष्ट्याइ हाले । लिड्स युनिभर्सिटीको अध्ययनपछि केहि समय सम्बन्धित फिल्डको काम गरेपनि रोधीघरको पुरानै परिकल्पनाले उनी निरमाया चलाउन लागिपरे । ‘विदेशमा रहेको दोश्रो नेपाली पुस्ता माझ नेपाली संस्कृतिको जगेर्ना साथै व्यवसायिकता पनि हुने भएर हजुर’, उनी वातचित गर्दै थिए ।
एउटा म्यानेजमेन्ट कन्सल्टेन्सीसंग समेत आवद्ध उनी कुनैपनि कामलाई सानो र ठूलोको दर्जामा राखेर हेरिन नहुने मान्यता राख्छन् । उनले नेपालमा सडक विभागको रातिमा सडक सफा गर्नेदेखि नर्वेजियन दूतावास मार्फत प्रोजेक्ट कोअर्डिनेटरसम्मको कामको अनुभव बटुलेका छन् । नेपाली लाहुरेको बाहुल्यता रहेको क्षेत्रमा अवस्थित निरमाया रोधीघरले नयां र पुरानो पुस्ता दुवै खाले ग्राहकको औधि माया पाएको छ । नेपाल बाहिर हरेक सांझ नेपाली कलाकारहरुले दैनिक प्रस्तुति दिने रोधीघरको रूपमा स्थापित यो एउटा मात्र नेपाली रेस्टुरेन्ट हो ।
नेपालबाट बेलायत कार्यक्रम लिएर आउने चर्चित कलाकारहरुले पनि निरमायाका ग्राहकको लागि आफ्नो कला पस्किने गर्दछन् ।त्यसो त नेपालबाट कलाकार ल्याउन पाउने बिशेष लाइसेन्स मार्फत आधा दर्जनभन्दा बढी कलाकार वर्क परमिटमा ल्याइसकेको बताउंछन् रेस्टुरेण्टका सञ्चालक गुरुङ ।गीत संगीतको साथसाथै मःमः, सांधेको भटमास, सुकुटी, छोइला, सेकुवा जस्ता मौलिक नेपाली स्टाटरसहित दाल भात तरकारीका दर्जनौं परिकार ग्राहक सामु पस्किनु पनि निरमाया रोधीघरको एउटा मूल विशेषता छ ।
सांझ ढल्किदै जांदा स्टेजमा गीतमात्र होइन, स्टेज अगाडि नाच्न खाली राखिएको ठाउंमा नृत्य पारखीहरुको पनि भीड बढ्न थाल्छ । ग्राहकको अनुरोधमै धेरैजसो नेपाली लोकगीत,अनि केहि आधुनिक र हिन्दी गीतहरु पनि बज्ने रहेछ निरमायामा !
सामाजिक काममा समेत सक्रिय गुरुङ वृद्ध गोर्खाहरूलाई अंग्रेजी पढाउनेदेखि विभिन्न जनचेतना कार्यक्रममा समेत स्वयंसेवी भूमिका निर्वाह गर्छन् । उनले रेस्टुरेण्टमै भूकम्प पीडितको लागि चन्दा बाकस राखेर आफूले पढेको गोर्खास्थित स्कुलको पुनर्निर्माणका लागि व्यक्तिगत रूपमा दुई लाख पचास हजार सहयोग गरेको जनाए ।च्यारिटेबल कार्यक्रमका लागि रेस्टुरेन्टमा पनि विशेष छुटको व्यवस्था भएको बताउने गुरुङ बाहिर गरिने प्रायः कार्यक्रमको एउटा हिस्सा च्यारिटीलाई छुट्टयाउने बताउंछन् ।
रेस्टुरेण्टमा मात्रै २७ जना नेपालीलाई रोजगारी दिएका गुरुङ सफलताको श्रेय भने परिवार र आफन्तलाई दिन्छन् । अहिले सफल भएपनि उनको विगत धेरै संघर्षपूर्ण थियो । एउटा साधारण परिवारको चार भाई मध्ये जेठो सन्तानको रूपमा जन्मिएका उनीसंग धेरै दुःख सुःखका कथा पनि छन् । सानोमै क्यान्सर पीडित बुवा गुमाएका गुरुङको थाप्लोमा जिम्मेवारीको बोझ सानैदेखि बढेको थियो । दुर्गम गाउंका दुई गाविस छिचोल्दै दुई घण्टा हिंडेर स्कुल पढेको उनको स्मृतिमा ताजै छ ।
पल्टनमा भर्ती हुन नसकेर पढाईमा फर्किएका उनलाई लाहुरे हुनुको सट्टा पढाइ गर्न सक्नुमा गर्व नै लाग्छ ।रेस्टुरेन्टमा कलाकार नहुंदा ग्राहकको मनोरञ्जनका लागि आफैं गाउन बजाउन पछि नपर्ने गुरुङ बोलीचालीमा पनि उत्तिकै फरासिला छन् । गोर्खा छोप्राक स्थायी निवासी गुरुङका आमा र भाईहरु नेपालमै छन् भने बेलायतमा उनी एक छोरी र श्रीमतीका साथ बस्छन् ।







