लिभरपुल साउथ वार्ड उपनिर्वाचनमा देव गुरुङको उम्मेदवारी

सिड्नी। अष्ट्रेलियाको लिभरपुल सिटी काउन्सिल अन्तर्गत पर्ने साउथ वार्डमा हुने उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङले उम्मेदवारी दिएका छन्। आगामी अप्रिल १८, २०२६ मा हुने उक्त निर्वाचनमा उनले “कम्युनिटी भ्वाइस अफ अष्ट्रेलिया” का तर्फबाट प्रतिस्पर्धा गर्ने भएका हुन्।उपप्रमुख बेट्टी ग्रीनले स्वास्थ्य कारण देखाउँदै पदबाट राजीनामा दिएपछि रिक्त रहेको स्थानका लागि उपनिर्वाचन हुन लागेको हो। सो निर्वाचनमा लेबर, लिबरल तथा स्वतन्त्र गरी करिब ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।गुरुङ लामो समयदेखि अष्ट्रेलियामा नेपाली समुदायसँग आबद्ध भई स्वयंसेवकका रूपमा सक्रिय रहँदै आएका छन्। उनले ब्रिटिश आर्मी तथा अष्ट्रेलियन डिफेन्स फोर्समा ३० वर्षभन्दा बढी सेवा गरेका छन्। लिभरपुल क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका उनी स्थानीय समुदाय, परिवार, व्यवसाय तथा भावी पुस्ताका आवश्यकताबारे जानकार व्यक्तिका रूपमा चिनिन्छन्।निर्वाचित भएमा उनले काउन्सिल दरलाई न्यायोचित र पारदर्शी बनाउने, फोहोर व्यवस्थापनमा सुधार ल्याउने, सडक, फुटपाथ, पार्क तथा खेलकुद पूर्वाधार सुदृढ गर्ने, सामुदायिक सम्पत्तिलाई अनावश्यक निजीकरणबाट जोगाउने, समुदाय तथा खेलकुद स्थललाई सहज पहुँचयोग्य बनाउने, नयाँ पूर्वाधार विकासमा जोड दिने तथा स्थानीय रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले लिभरपुललाई सुरक्षित, व्यवस्थित र बस्नयोग्य शहरका रूपमा विकास गर्ने लक्ष्य अघि सारेका छन्।लन्डन नेपाल न्युज अष्ट्रेलियासँग कुरा गर्दै गुरुङले निर्वाचन प्रचारप्रसारका क्रममा स्थानीय समुदायबाट सकारात्मक प्रतिक्रिया पाएको बताए। आफू विजयी हुनेमा विश्वस्त रहेको उल्लेख गर्दै उनले लामो समयदेखि नेपाली तथा अष्ट्रेलियाली समुदायमा सामाजिक कार्य गर्दै आएको अनुभवका आधारमा स्थानीय समस्याहरूलाई राम्रोसँग बुझेको र तिनको समाधानका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाए।उनका अनुसार विभिन्न तह र तप्काका प्रतिनिधिहरूबाट सहयोग र साथ प्राप्त भइरहेको छ भने प्रचारप्रसारका क्रममा पनि धेरै व्यक्तिहरूले समर्थन र सहानुभूति देखाएको बताएका छन्।पारदर्शिता, जवाफदेहिता र जनमुखी नेतृत्वलाई आफ्नो अभियानको मूल आधार बनाएका गुरुङले साउथ वार्डका मतदातालाई मतदानमार्फत समर्थन गर्न आह्वान गरेका छन्। उक्त क्षेत्रमा नेपाली समुदायको पनि उल्लेखनीय उपस्थिति रहेको छ।यसअघि अष्ट्रेलियामा नेपाली मूलका प्रतिनिधिहरूले काउन्सिल तहमा सफलता हासिल गरिसकेका छन्, जसले नेपाली समुदायका लागि थप प्रेरणा प्रदान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *