सिड्नी । तामाङ समुदायको ऐतिहासिक तथा सांस्कृतिक पर्व सोनाम ल्होछार–२८६२ (घोडा वर्ष) को अवसरमा तामाङ सोसाइटी अफ न्यू साउथ वेल्स को आयोजनामा २४ जनवरी शनिबार सिड्नीको पारामाटा स्थित रिभरसाइड थिएटरमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा दर्शकको उल्लेखनीय सहभागिता रहेको थियो। हल पूर्ण रूपमा भरिएको देखिन्थ्यो भने तामाङ तथा नेपाली समुदायका अगुवा, बुद्धिजीवी, कलाकार, युवा तथा सर्वसाधारणको बाक्लो उपस्थितिले कार्यक्रमलाई थप भव्य र अर्थपूर्ण बनाएको थियो।कार्यक्रममा प्रमुख अतिथि जिहाद दिपले मन्तव्य दिँदै प्रवासमा रहँदा पनि तामाङ समुदायले आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा देखाएको सक्रियता प्रशंसनीय रहेको बताएका थिए। उनले बहुसांस्कृतिक अष्ट्रेलियाली समाजमा यस्ता सांस्कृतिक कार्यक्रमहरूले नेपाली समुदायको पहिचानलाई मजबुत बनाउनुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोडिराख्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका थिए।

तामाङ सोसाइटी अफ एनएसडब्लुका अध्यक्ष अबिरल तामाङले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सदस्य, स्वयंसेवक, प्रायोजक, कलाकार तथा दर्शकप्रति धन्यवाद व्यक्त गरेका थिए। उनले तामाङ समाजको आधार भाषा, संस्कृति र धर्म रहेको उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित र गुणस्तरीय कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता जनाएका थिए।विशेष अतिथि संजिव शर्माले तामाङ समुदायले अष्ट्रेलियामा आफ्नो संस्कृतिको जगेर्ना गर्न गर्दै आएको प्रयास सराहनीय रहेको बताएका थिए। उनले यस्ता कार्यक्रमहरूले नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सहकार्यलाई थप सुदृढ बनाउने बताए। साथै, कन्सुलेट कार्यालय सधैं नेपाली समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा उपस्थित स्थानीय काउन्सिलर भद्र वाइवाले तामाङ सोसाइटी अफ एनएसडब्लुले समुदायको पहिचान जोगाउन खेलेको भूमिकाको प्रशंसा गरेका थिए। उनले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको सक्रिय सहभागिता गर्वको विषय भएको उल्लेख गर्दै सफल कार्यक्रम आयोजनाका लागि आयोजक टिमलाई बधाई तथा शुभकामना दिएका थिए।
संस्थापक तथा तामाङ सोसाइटी अफ अष्ट्रेलियाका सल्लाहकार गणेश तामाङ, पूर्व अध्यक्ष सुनदोर्जे तामाङले कार्यक्रमको सफलता को शुभकामना दिदै दिँदै संस्थाको स्थापनादेखि हालसम्मको यात्राको स्मरण गरेका थिए। तामाङ समुदायको एकता, भाषा, संस्कृति र धर्मको संरक्षण नै संस्थाको मूल उद्देश्य रहेको स्पष्ट पार्दै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानप्रति सचेत गराउन यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको बताएका थिए।
कार्यक्रमको सांस्कृतिक पक्ष पनि निकै आकर्षक रहेको थियो। चर्चित सेलो गायक आश्मान लोप्चन आले र लोकप्रिय गायक–संगीतकार दिल तामाङको प्रत्यक्ष प्रस्तुति दर्शकको मुख्य आकर्षण बनेको थियो। साथै, सांस्कृतिक नृत्य, गीत, सेलो बाजा, डीजे सेसन लगायत विविध प्रस्तुतीहरूले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो। कार्यक्रममा तामाङ सोसाइटी अफ एनएसडब्लुका पूर्व अध्यक्ष तथा समुदायका अग्रज व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रेलिया (NIMFA) का अध्यक्ष लक्ष्मण गुरुङ, तमु समाज अष्ट्रेलियाका अध्यक्ष हिउपति गुरुङ, अष्ट्रेलियन नेपाली पत्रकार संघ एञ्जा संस्थापक अध्यक्ष हेमन्त काफ्ले,अध्यक्ष कृष्ण तिवारी, सल्लाहकार डा. राजु मानन्धर, सचिव तक्दीर अधिकारी, यस बि यस नेपाली सेवाका कृष्ण पोखरेल लगायत विभिन्न समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा तामाङ सोसाइटी अफ एनएसडब्लु सिड्नी टोलीले सफल कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सदस्य, स्वयंसेवक तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि तामाङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।






