लन्डन आइपुगे तामाङ घेदुङ यूके केन्द्रिय समितिको ल्होछारमा बबाल प्रस्तुति दिन चर्चित गायक अविनाश घिसिङ

लन्डन । तामाङ समुदायको महान पर्व २८६२ औं ता–ल्हो सोनाम ल्होछारको अवसरमा आयोजना हुने केन्द्रीय समितिको ल्होछार कार्यक्रममा प्रस्तुति दिन चर्चित गायक अविनाश घिसिङ लन्डन आइपुगेका छन्।

तामाङ घेदुङ युके केन्द्रीय समितिको आयोजनामा १७ जनवरी २०२६, शनिबार लन्डनको ह्यारोस्थित ह्यारो लिजर सेन्टर, क्रिस्ट चर्च मा हुने संयुक्त ल्होछार कार्यक्रममा अविनाश घिसिङ सहितका कलाकारले प्रस्तुति दिने कार्यक्रम छ।

आयोजक तामाङ घेदुङ युके केन्द्रीय समितिका अध्यक्ष हरि सिंह वाईवा,उपाध्यक्ष उदय घिसिंग,सचिव विशाल स्याङ्बो,सहसचिव धन तामाङ,सह-कोषाध्यक्ष दल ब्लेन्थेन,महिला,सद्स्य धनु दिम्दुङ लगायतले गायक घिसिङ्गलाई विमानस्थलमा भव्य स्वागत गरेका छन्।चर्चितगायक घिसिङले विमानस्थलमा लन्डन नेपाल न्यूज डट कमसँग भने, “प्रवासमा सोनाम ल्होछारको खुशीयाली साट्न पाउनु मेरो लागि गर्वको विषय हो। तामाङ संगीतमार्फत संस्कृतिको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छु।”

केन्द्रीय अध्यक्ष हरिसिं वाइबाले भने, “बेलायतमा रहेका तामाङ समुदायबीचको ऐतिहासिक एकतापछि  केन्द्रीय  रूपमा सोनाम ल्होछार मनाउन पाउनु गर्वको विषय हो। यो कार्यक्रम केवल पर्व उत्सव मात्र होइन, हाम्रो सामूहिक पहिचान र एकताको प्रतीक पनि हो।”

सचिव तथा ल्होछार कार्यक्रम संयोजक विशाल स्याङ्बो तामाङले भने, “यो ल्होछार कार्यक्रम मनोरञ्जनमा मात्र सीमित रहने छैन। यसले तामाङ समुदायको भाषा, संस्कृति र सामूहिक पहिचानलाई प्रवासमा अझ मजबुत बनाउने विश्वास लिएका छौं। बेलायतमा रहनु हुने सम्पूर्ण तामाङ तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई सहभागी भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछु।”

तामाङ सेलो, लोक तथा आधुनिक संगीतमा आफ्नो छुट्टै पहिचान बनाएका अविनाश घिसिङको प्रस्तुति ल्होछार कार्यक्रमको मुख्य आकर्षणमध्ये एक हुने आयोजकको विश्वास छ। कार्यक्रममा उनका साथमा योगेश लामा, कृष्ण पाख्रिन र कुमार योञ्जनले पनि प्रस्तुति दिनेछन्।

तामाङ घेदुङ युकेले संयुक्त रूपमा आयोजना गर्न लागेको यस ल्होछार कार्यक्रममा लाइभ म्युजिक, नृत्य, डिजे, मौलिक खाना तथा प्रथम पुरस्कार १ तोला सुन रहेको भाग्योदय चिट्ठा समेत समावेश गरिएको छ। आयोजकले बेलायतमा रहेका सम्पूर्ण तामाङ समुदाय तथा नेपालीहरूलाई कार्यक्रममा सहभागी भई सोनाम ल्होछारलाई भव्य बनाउन आग्रह गरेको छ।