झापाली समाज यूकेको अध्यक्षमा युवा व्यवसायी टंक भट्टराई -निर्बाचित -समितिमा अरु को को आए ?

लन्डन- झापाली समाज युकेको नयाँ कार्यसमिति चयन भएको छ। जनवरी ११ मा सम्पन्न समाजको साधारण सभाले विधानबमोजिम आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति गठन गरेको हो। नवगठित कार्यसमितिको अध्यक्षमा युवा व्यवसायी टंक भट्टराई चयन भएका छन्। सूचना प्रविधि व्यवसायमा रहेका भट्टराई-कोडेक यूके पूर्व अध्यक्ष तथा यति एसोसिएसन यूकेका अध्यक्ष हुन् ।

नवगठित कार्यसमितिमा उपाध्यक्षहरूमा गुरु इजम, लोकनाथ अधिकारी र भूपाल कार्की चयन भएका छन्। महासचिवमा देवी प्रसाद गौतम, सचिवमा गौरव कन्दङ्बा लिम्बु, कोषाध्यक्षमा छबी कार्की र सह–कोषाध्यक्षमा कृष्ण फेम्बो रहेका छन्।

त्यसैगरी कार्यसमितिका सदस्यहरूमा सन्तोष तिम्सिना, नगेन्द्र प्रसाद खरेल, देवी माया लिम्बु, रोशन सिम्खडा, एल. एन. घिमिरे, हस्तबहादुर लिम्बु र कृष्ण चापागाईं रहेका छन्।

अध्यक्ष चयनपछि प्रतिक्रिया दिँदै भट्टराईले समाजप्रति प्राप्त विश्वासलाई ठूलो जिम्मेवारीका रूपमा लिएको उल्लेख गरे । व्यस्त जीवनका बीच थप जिम्मेवारी स्वीकार गर्नु सजिलो नभए पनि कार्यसमितिमा रहेका अनुभवी र स्थापित व्यक्तिहरूको आग्रहलाई नकार्न नसकी अध्यक्षको जिम्मेवारी स्वीकार गरेको उनले बताए।

‘कार्यसमितिमा रहनु भएका सबै साथीहरू आ–आफ्नो क्षेत्रमा अब्बल र अनुभवी हुँदाहुँदै पनि मलाई नै नेतृत्वको जिम्मेवारी सुम्पिनु भएको छ। यो विश्वासलाई सम्मान गर्दै म आफ्नो तर्फबाट निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ भट्टराईले भने। भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निरन्तर योगदान गर्दै आएका झापाली अग्रज महानुभावहरूले देखाएको विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दै झापाली समाज युकेको हित, एकता र विकासका लागि सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए।