सिड्नी । तमु समाज सिड्नीले तमु ल्होछार पर्वको अवसरमा आयोजना गर्न लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। तमु ल्होछारका अनुसार १२ वर्ग चक्रमध्ये यस वर्ष घोडा वर्ग (त ल्हो) लाई स्वागत गर्दै ल्होछार मनाउन लागिएको हो। डिसेम्बर ३० तारिख, मंगलबारका दिन माराना अडिटोरियम, हर्स्टभिलमा बेलुकी ५ बजेदेखि तमु ल्होछार विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।
समाजका अध्यक्ष हिउपति गुरुङका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी तीव्र रूपमा भइरहेको छ। अतिथिहरूको निमन्त्रणा, कलाकारहरूको व्यवस्थापन तथा कार्यक्रम सम्पन्न गर्न गठन गरिएका विभिन्न समिति र उपसमितिहरूले आ–आफ्नो जिम्मेवारी पूरा गरिसकेको र अब कार्यक्रमको प्रतिक्षामा रहेको उनले बताए।कौडा किङ गणेश गुरुङ र लोकदोहोरी गायक भीमु गुरुङ बाट विशेष प्रस्तुति समेत रहने छ। कार्यक्रममा तमु संस्कार, संस्कृति र परम्परा झल्किने बृहत् सांस्कृतिक कार्यक्रम, परम्परागत भेषभूषा, नृत्य–संगीत, शुभकामना आदान–प्रदान, स्योकै (रात्री भोज) लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिने जनाइएको छ।
नेपालको राष्ट्रिय पर्वमध्ये एक तथा गुरुङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व तमु ल्होछारको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा सांस्कृतिक हस्तान्तरण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष गुरुङले बताए। उक्त अवसरमा परम्परागत पूजा, तमु भेषभूषा, विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथै तमु परिवारबाट तयार पारिएका परिकारहरू पनि समावेश हुने जनाइएको छ।
कार्यक्रमका लागि प्रि–सेल टिकट ४० डलर र डोर सेल टिकट ४५ डलर तोकिएको छ, जसमा डिनर समेत समावेश गरिएको छ। तमु समाज सिड्नीले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई तमु ल्होछारलाई भव्य रूपमा मनाउन हार्दिक निमन्त्रणा गरेको छ।
आफ्नो टिकट खरिद गर्न तल दिइएको लिङ्क क्लिक गर्नुहोस् https://www.trybooking.com/DHYIL






