लन्डन। गायक राजु लामा नेतृत्वको चर्चित नेपाली ब्यान्ड मंगोलियन हर्ट १३ डिसेम्बरमा लन्डनस्थित ह्यारो लेजर सेन्टरमा हुने विशेष सांगीतिक कन्सर्टका लागि बेलायत आइपुगेको छ।
ब्यान्डका सदस्यहरू बिहीबार बिहान लन्डन अवतरण गर्दा विमानस्थलको टर्मिनल ४ मा आयोजक जीटी बास इन्टरटेन्मेन्ट र सहीसर्चका प्रतिनिधि रोज लामा, थमु वाइबा, विशाल मोक्तानलगायतले स्वागत गरेका थिए।
गायक राजु लामासहित आठ सदस्यको टोली बेलायत आएको छ। टोलीमा राजु लामा, बबि लामा, सन्तोष थापा, बाबुराजा महर्जन, विनय महर्जन, भूपेन्द्र बज्राचार्यलगायत छन्।
विमानस्थलमा संक्षिप्त टिप्पणी गर्दै गायक लामाले १३ डिसेम्बरको प्रस्तुति प्रति आफूहरू निकै उत्साहित रहेको बताए। स्वागतका लागि विमानस्थल पुगेकाप्रति कृतज्ञता व्यक्त गर्दै उनले पहिलेकै जस्तै बेलायतवासी नेपाली समुदायबाट साथ र सहयोगको अपेक्षा व्यक्त गरे।
ब्यान्डका सबै सदस्य पहिलोपटक बेलायत आएका उल्लेख गर्दै लामाले सबैलाई कन्सर्टमा सहभागी हुन निम्तो दिए। अझै टिकट किन्न बाँकी रहेका दर्शकहरूलाई चाँडै टिकट सुनिश्चित गर्न आग्रह पनि गरे।
नेपाल फर्केर कन्सर्ट हेर्न नसक्ने बेलायतवासी नेपालीहरूलाई लक्षित गरी यो विशेष कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कन्सर्ट साँझ ६ बजेदेखि सुरु हुनेछ र बेलायतस्थित सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई उपस्थित रहन आयोजकले अनुरोध गरेका छन्।






