लन्डन, नर्थल्ट – नेपाल रन यूकेले नोभेम्बर २, आइतबारका दिन नर्थल्ट फील्ड्स पार्कमा आयोजना गरेको नर्थल्ट १० के रन उत्साहपूर्वक सम्पन्न भएको छ। करिब ५०० धावकले प्रत्यक्ष रूपमा सहभागिता जनाए भने थुप्रैले भर्चुअल रूपमा पनि दौड पूरा गरे।
हेल्प नेपाल र जुम्लास्थित उच्च उचाइ प्रशिक्षण शिविरलाई सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमका सबै विजेताहरूलाई ट्रफी प्रदान गरियो भने सबै सहभागीहरूलाई टी–सर्ट र पदक वितरण गरिएको थियो।
कार्यक्रममा स्थानीय सांसद जेम्स मरे र नेपाल दूतावासका उप-मुख्य प्रतिनिधि बिपिन दवाडी विशेष अतिथि रहे। नेपाल रन यूकेका पदाधिकारी डा. जगन कार्कीका अनुसार यो वार्षिक कार्यक्रम संस्थाको प्रमुख आकर्षण बनेको छ, जसले समुदायमा एकता, स्वास्थ्य र फिटनेसप्रतिको चेतना फैलाउन सहयोग पुर्याएको छ।
कार्यक्रमको सञ्चालन समिता आलेले गरेकी थिइन् भने कोच आत्माराम दहालले धावकहरूलाई दौड अघि वार्म–अप एक्सरसाइज गराएका थिए। गोरखाली सेनाका पाइपर प्रताप गुरुंगको पाइपर धुन र दहालको संख ध्वनिबाट दौड सुरु गरिएको थियो। स्वयंभूको स्तूपा र नेपाली ध्वजाले सजाइएको पार्कमा नेपाली खाना सर्व गरिएको थियो। साथै नेपालमै बनेका ट्रफी र टी–सर्ट प्रयोग गरी नेपाली पन झल्काइएको थियो।
दौडमा पुरुषतर्फ इलियास अहमदले उत्कृष्ट प्रदर्शन गर्दै ३४ मिनेट १ सेकेन्डको समयमा दूरी पूरा गरी पहिलो स्थान हासिल गरे। शन्देश राई ३४ मिनेट ५३ सेकेन्डमा दोस्रो र ट्वेलर ब्वक्याम्बे ३५ मिनेट १३ सेकेन्डमा तेस्रो भए।
महिलातर्फ फ्रान्सेस्का बुटीले ४० मिनेट २ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हात पारिन्। सराह ह्यारिस ४३ मिनेट १० सेकेन्डमा दोस्रो र तेज माया रेग्मी सिग्देल ४५ मिनेट ५१ सेकेन्डमा तेस्रो स्थानमा रहिन्।
४० देखि ४९ वर्ष उमेर समूहको भेट्रानतर्फ पुरुषमा सेलिमेंट बर्थेटले ३७ मिनेट ४९ सेकेन्डमा पहिलो भए। बलदेव कुँवर ३८ मिनेट २३ सेकेन्डमा दोस्रो र नाइजल रिबेरियो ४० मिनेट ९ सेकेन्डमा तेस्रो भए। महिला भेट्रानमा मनिषा लिम्बु ४९ मिनेट २५ सेकेन्डमा पहिलो, क्लारी मोरिस ४९ मिनेट ३८ सेकेन्डमा दोस्रो र होमा देवी पुन ५० मिनेट २९ सेकेन्डमा तेस्रो भइन्।
५० देखि ५९ वर्ष उमेर समूहमा पुरुषतर्फ लक्ष्मण गुरुङले ३९ मिनेट २३ सेकेन्डमा पहिलो स्थान हासिल गरे। पदम कुँवर ३९ मिनेट २५ सेकेन्डमा दोस्रो र अमृत श्रेष्ठ ४१ मिनेट २ सेकेन्डमा तेस्रो भए। महिला भेट्रानमा रेबेका क्नाइट ४६ मिनेट ५८ सेकेन्डमा पहिलो, भेनेसा पल ५२ मिनेट ३४ सेकेन्डमा दोस्रो र रेचल फोर्ड ५३ मिनेट ३७ सेकेन्डमा तेस्रो भइन्।
६० वर्ष माथिको सुपर भेट्रान वर्गमा महिला जेनिफर हडसनले ५५ मिनेट १५ सेकेन्डमा पहिलो स्थान हात पारिन् भने पुरुषमा मार्टिन देओड विजेता बने।
नेपाल रन क्लब अन्तर्गत महिलातर्फ सलिना राजभण्डारीले ५१ मिनेट ५० सेकेन्डमा र पुरुषतर्फ शिव गुरुङले ४२ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान प्राप्त गरे। क्लबका नियमित दौड गतिविधिमा उत्कृष्ट प्रगति गर्ने धावकको रूपमा पुस्कर नेपाललाई सम्मान गरिएको थियो।
रनको प्रमुख प्रायोजक ए स्टार फाइनान्सियल सोलुसन्स यूके थियो। साथै रियल ड्रिम्स एडुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रुटमेन्ट, मेक्सवर्थ एकाउन्टेन्ट्स, एनआरएनए यूके, भोजपुर समाज यूके, मोमो हाउस ३६५ लगायतका संस्थाहरूले सहयोग गरेका थिए। सहप्रायोजकमा एसएनपी प्लस अकाउन्टिङ, किरात राई यायोक्खा यूके, राजन लामिछाने, सरोज थेरापी, शिवम कन्स्ट्रक्सन, भिष्म कन्स्ट्रक्सन, गोर्खा किचेन रहेका थिए भने कार्यक्रम सहयोगीमा एनबिसी यूके र चित्र गुरुङ रहेका थिए।
नेपाल रन यूकेका प्रमुख कोच सन्तोष राईले सबै प्रायोजक र सहयोगीहरूलाई धन्यवाद दिँदै सहभागीहरूलाई दौडका दिन ख्याल गर्नुपर्ने पक्षबारे जानकारी दिएका थिए। संस्थापक तथा सचिव जगन कार्कीले कार्यक्रमको मुख्य उद्देश्य समुदायमा स्वास्थ्य सचेतना जगाउने, नेपालको पर्यटन र संस्कृतिको प्रवर्द्धन गर्ने र बैकुण्ठ मानन्धरले सुरु गरेको जुम्लाको हाइ अल्टिच्युड ट्रेनिङ क्याम्प निर्माणमा सहयोग पुर्याउने रहेको बताए।
कार्यक्रम निर्देशक सन्तोष राईले सबै प्रायोजक, स्वयंसेवक र सहभागीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए।
१० के मुख्य दौड सुरु हुनु अघि बालबालिकाको २ के फन रन पनि आयोजना गरिएको थियो। 



































