लन्डन- बेलायतमा स्थापित गुल्मी जिल्ला समाज यूकेले निरन्तररूपमा गर्दै आएको वार्षिक च्यारिटी कार्यक्रम यस वर्ष पनि भव्य रूपमा आयोजना गर्न लागेको छ।
नेपालका अपांगता भएका व्यक्तिहरूलाई सहयोग पुर्याउने उद्देश्यले आयोजना हुने यो “३२औं डिसेबल अन्तर्राष्ट्रिय च्यारिटी कार्यक्रम” नोभेम्बर ३० (आइतबार) का दिन दिउँसो १ बजेबाट सुरु हुने भएको छ।
कार्यक्रम लन्डनस्थित Welling, DA16 1LS मा आयोजना हुने समाजका महासचिव महलाल घिमिरेले जानकारी दिएका छन्।
समाजका अध्यक्ष रुद्र थापाको अध्यक्षतामा सञ्चालन हुने उक्त कार्यक्रममा महामहिम नेपाली राजदूतज्यूको विशिष्ट उपस्थितिका साथै बेलायतभरिका गुल्मेली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको लण्डन नेपाल न्यूज लाई बताए ।
कार्यक्रमलाई अझ आकर्षक र व्यवस्थित बनाउन उपाध्यक्ष मञ्जु भण्डारी संयोजक र सचिव राधा खरेललाई सह–संयोजकको जिम्मेवारी दिइएको छ ।
कार्यक्रममा गुल्मेली प्रथम नौमती बाजा यूकेको प्रस्तुति संगै लोकप्रिय कलाकारहरूको प्रस्तुतिले विशेष आकर्षण थप्नेछ। चर्चित गायक अर्जुन कुँवर र प्रसिद्ध डिजे हेम बिष्टले मनोरञ्जनमूलक प्रस्तुति दिनेछन् भने स्थानीय कलाकारहरूले पनि सांगीतिक र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन्।
सांगीतिक र सांस्कृतिक मनोरञ्जनसँगै समाजले संकलित रकम नेपालका अपांगता भएका व्यक्तिहरूको सहयोगमा खर्च गर्ने जनाएको छ।
कार्यक्रमका लागि प्रवेश शुल्क वयष्कका लागि £25 र १२ वर्षमुनिका बालबालिकाका लागि £12 तोकिएको छ। कार्यक्रम दिउँसो १ बजेदेखि सुरु भई साँझ ८ बजेसम्म सञ्चालन हुनेछ।
सन् २००७ मा संस्थापक अध्यक्ष ओमप्रसाद थापा (काउछा)को नेतृत्वमा स्थापित गुल्मी जिल्ला समाज यूकेले स्थापना कालदेखि नै परोपकारी, सामाजिक तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको छ।






