ग्रान्ड प्यालेस फङ्सन सेन्टर’ को भव्य उद्घाटन

सिड्नी,  सिड्नीको अर्बन क्षेत्रमा नेपाली समुदायको लागि नयाँ सांस्कृतिक केन्द्र ‘ग्रान्ड प्यालेस फङ्सन सेन्टर’ को २१ सेप्टेम्बर आइतवार  भव्य समारोहका साथ उद्घाटन भएको छ। आधुनिक सुविधा र आकर्षक संरचनासहित तयार परेको यो केन्द्रले सिड्नीमा रहेका नेपालीहरूको सामाजिक, सांस्कृतिक र सामुदायिक गतिविधिहरूको केन्द्रबिन्दु बन्ने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा बरिस्ट संगीतकार शम्भुजीत बाँस्कोटाका लोकप्रिय गीतहरूले माहोललाई मन्त्रमुग्ध बनाएका थिए भने  स्थानीय कलाकार गायिका प्रीति घिमीरेले आफ्नो स्वरले कार्यक्रमलाई झन् उत्साहपूर्ण बनाएकी थिइन्। फिल्म निर्देशक सोभित बस्नेतले कार्यक्रम संचालन गरेका  थिए।

केन्द्रका संचालक र युवा व्यवसायी रन्जित साहले कार्यक्रम लाई सम्बोधन गर्दै भने, “यो केन्द्र केवल भौतिक ढाँचा मात्र होइन, नेपाली समुदायले आफ्नो संस्कृति र परम्परा जोगाउने एउटा साझा घर हो। हामी हरेक महिना नेपालबाट कलाकारहरूलाई आमन्त्रणा गरी सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएका छौं।” ग्रान्ड प्यालेस फङ्सन सेन्टरमा करिब ४०० जनासम्म अट्ने ठूलो हल र २०० जनासम्म अट्ने सानो हल रहेको छ, जहाँ विवाह, सम्मेलन, सांस्कृतिक कार्यक्रमलगायत विभिन्न आयोजनाहरू गर्न सकिनेछ। साहले थपे, “यो स्थललाई नेपाली समुदायको पहिचान र एकताको प्रतीकको रूपमा विकास गर्न चाहन्छौं।”

कार्यक्रममा ठूलो संख्यामा नेपाली समुदायको उपस्थिति रहेको थियो। उद्घाटन समारोहलाई स्थानीय नेपालीहरूले आफ्नो सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने ऐतिहासिक कदमको रूपमा हेरेका छन्।