बेलायतको स्कटल्यान्डमा दूतावासको सहकार्यमा संस्कृति झल्काउने पहिलो नेपाली मेला हुदै

लण्डन । बेलायतको स्कटल्यान्डमा दूतावासको सहकार्यमा नेपाली संस्कृति झल्काउने पहिलो नेपाली मेला हुने भएको छ।

नेपाली कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यसहित स्कटल्यान्डको राजधानी एडिनबर्गमा पहिलोपटक नेपाली मेला आयोजना हुने भएको हो ।

आगामी २३ जुन २०२५ मा हुने यो कार्यक्रम नेपाली राजदूतावास लन्डनको प्रमुख आयोजना एनआरएनए स्कटल्यान्ड तथा यहाँका विभिन्न नेपाली संघसंस्थाहरूको संयुक्त सहयोग र समन्वयमा सम्पन्न गरिने एनआरएनए स्कटल्यान्डका अध्यक्ष दिवाकर पान्डेले लण्डन नेपाल न्यूज लाई बताए ।

मेला स्कटल्यान्डमा बसोबास गरिरहेका नेपाली समुदायका लागि आफ्नो पहिचान, भाषा, भेषभूषा, परम्परा र संस्कृतिको गौरवपूर्ण प्रदर्शन गर्ने महत्वपूर्ण अवसर हुने पाण्डेले बताए।

कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य, लोकगीत, परम्परागत खाना, हस्तकला प्रदर्शनी, पर्यटन सम्बन्धी सूचना केन्द्र, बालबालिकाका रमाइला गतिविधि लगायत विविध प्रस्तुति समावेश गरिनेछ। मेलाले स्कटल्यान्ड तथा युकेमा बसोबास गरिरहेका नेपालीबीच सामाजिक सद्भाव, आपसी एकता र सञ्जाल विस्तार गर्न समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ पाण्डेले बताए ।

नेपाली दूतावास लन्डन र एनआरएनए स्कटल्यान्डले स्कटल्यान्डबासी तथा युकेबासी सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा भव्य र सभ्य रूपमा सहभागी भई नेपाली संस्कृति विश्वसामु चिनाउन सहयोग गर्न अध्यक्ष दिवाकर पान्डेले आग्रह गरेका छन्।