नेपालमा ५१ दिनको एतिहासिक सफलता पछि अब ‘अञ्जिला’ बेलायत भर प्रदर्शन हुदै

शिब भण्डारी

लण्डन ।नेपालमा लगातार ५१ दिनसम्म प्रदर्शन भएर सफलताको उचाइ छोएको नेपाली राष्ट्रिय महिला फुटबलर एञ्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा निर्माण भएको नेपाली चलचित्र ‘अञ्जिला’ अब बेलायत भर प्रदर्सन हुने भएको छ।

बेलायत स्थित संचारकर्मी न्यु होराईजन क्रियशनका प्रमुख आकाश सुनुवारले फिल्मलाई बेलायतका विभिन्न स्थानमा प्रदर्शन गर्ने जानकारी दिँदै यूकेमा रहेका दर्शकहरूलाई साथ दिन अपिल गरेका छन् । फिल्मको यूके संयोजनको जिम्मेवारी सुनुवारले पाएका छन् । नेपाली चलचित्र ‘अञ्जिला’को बेलायतको एल्डरसटस्थित एम्पायर हलमा मे २४ मा प्रदर्सन हुने व्यापक तयारी गरिएको संचारकर्मी सुनुवारले लण्डन नेपाल न्यूज लाई बताए।यस अघि ‘अञ्जिला’ को फेब्रुअरी १५ मा एम्पायरमा रेड कार्पेट प्रिमियर गरिएको थियो ।

नेपाली चलचित्र क्षेत्रका एक चर्चित निर्देशक मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्र राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवन संघर्ष र सफलताको कथामा आधारित छ। एञ्जिलाकै नाममा बनेको फिल्ममा दयाहाङ राई, एन्जिला सुब्बा, श्रृजना सुब्बा, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ र सुनिल थापा लगायतका कलाकारको दमदार अभिनय छ।

प्रेम कुमार श्रेष्ठको लगानीमा बनेको फिल्ममा सुदीप बरालको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ। फिल्मको कथा प्रदीप भारद्वाज, यम थापा र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन्। राजनराज सिवाकोटी, हरि लम्साल र थानेश्वर गौतमको संगीत र कविराज गहतराजको कोरियोग्राफीले फिल्मलाई भावनात्मक र दृश्यात्मक रूपमा थप सशक्त बनाएको छ।

सार्वजनिक टिजरमा एन्जिला सुब्बा नै शीर्ष भूमिकामा देखिएकी छन्। फुटबल खेल्ने सपना बोकेकी एक युवतीले भोग्नुपरेका संघर्ष, बाधा र अन्ततः सफलताको कथा यस चलचित्रको मुख्य सार हो।

नेपालमा सफलता प्राप्त गरेपछि अन्तर्राष्ट्रिय दर्शक सामु प्रस्तुत हुन लागेको एञ्जिलाले यूके स्थित नेपाली समुदायमा प्रेरणा जगाउने अपेक्षा गरिएको छ।