एनबीसी यूकेले मनायो नेपाली नयाँ वर्ष,च्यारिटी डिनरमा उठ्यो १२ हजार पाउण्ड

लण्डन । बेलायतस्थित सामाजिक संस्था नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा च्यारिटी डिनर तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

सोमबार साँझ लन्डनमा आयोजित उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, प्रेरणादायी वक्तव्य समेत समावेश गरिएको थियो।उत्साहजनक सहभागिता रहेको कार्यक्रममा पुणित कार्यको प्रशंशा गरिएको थियो ।

बालबालिकाको शिक्षामा सहयोग गरी उनीहरूको उज्ज्वल भविष्य निर्माणमा साथ दिन गरिएको कार्यक्रमबाट हुम्लाका बालबालिकाको शिक्षाका लागि करिब १२ हजार ८०० पाउन्ड संकलन गरिएको संस्थाका कोषाध्यक्ष खेमराज जोशीले लण्डन नेपाल न्यूजलाई जानकारी दिए।

संस्थाका अध्यक्ष समिरनाथ प्याकुरेलका अनुसार संकलित रकम हुम्ला सिमीकोटस्थित हिमाली श्रवण अपांगता तथा बौद्धिक अपांगता विद्यालयलाई सहयोगस्वरूप हस्तान्तरण गरिनेछ।“ एनबीसी युकेले कार्यक्रमको खर्च कटाएर बचेको रकम हुम्ला सिमीकोटस्थित हिमाली श्रवण अपांगता तथा बौद्धिक अपांगता विद्यालयलाई प्रदान गर्ने उनले बताए ।

संस्थाका अध्यक्ष प्याकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव दामोदर आचार्यले औपचारिक कार्यक्रम शुभारम्भ गरेका थिए भने पूर्व अध्यक्ष मिलन घिमिरेले संस्थाको उद्देश्य गतिविधि र आगामी योजनाबारे जानकारी प्रस्तुत गरे।

कार्यक्रममा सस्थाका युवा आजिबन सदस्य मनित घिमिरेले हेल्थ एण्ड सेफ्टी तथा सांस्कृतिक कार्यक्रम सिर्जना कोइरालाको संयोजनमा समिस्री प्याकुरेलले संचालन गरेकी थिइन् ।

कार्यक्रमको मुख्य आकर्षणमा दाजुभाइ ब्याण्डको लाइभ कन्सर्ट, मोना यूकेद्वारा प्रायोजित सांस्कृतिक नृत्य, यूके युथ डान्सर ग्रुपको प्रस्तुति, गायिका सहिमा श्रेष्ठ र गायक सुदीप पाण्डेका गीत तथा डीजे नेपसोलद्वारा नाचगान प्रस्तुतिहरू रहेका थिए।

सांगीतिक प्रस्तुति बीचमा सुदर्शन कुँवरले हिमाली विद्यालयबारे जानकारी दिँदै कार्यक्रमको च्यारिटी पक्षप्रति सहभागीहरूको ध्यानाकर्षण गराए।

कार्यक्रमकै अवसरमा कार्यक्रम संयोजक ऋषि खनाल  र बसन्त नेपालले धन्यवाद ज्ञापन गर्दै सबैलाई सामाजिक भावनाले ओतप्रोत भई भविष्यमा पनि यस्ता कार्यक्रमहरूमा सहकार्य गर्न आग्रह गरे।

एनबीसी यूकेले विगतका वर्षहरूमा पनि यस्ता च्यारिटी कार्यक्रम मार्फत नेपालका पिछडिएको क्षेत्रमा सहयोग गर्दै आएको छ। यसपटकको नयाँ वर्ष उत्सव पनि च्यारिटी र मनोरञ्जन दुबै उद्देश्य बोकेको सफल कार्यक्रमका रूपमा सम्पन्न भएको छ।

विभिन्न प्रतिष्ठित प्रतिनिधिहरु उपस्थित कार्यक्रममा अध्यक्ष प्याकुरेलले दाताहरु र सहभागी सबैप्रति आभार व्यक्त गरे ।