लन्डन— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई एजुकेसन वर्ल्ड फोरम २०२५ मा सहभागी हुन लन्डन आउनुहुने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मन्त्री भट्टराईको भ्रमण स्वीकृत गरेको छ ।
विश्वका शिक्षामन्त्रीहरूको सबैभन्दा ठूलो वार्षिक भेला मानिने यो कार्यक्रमले शिक्षा क्षेत्रमा रहेका साझा चुनौतीहरू समाधान गर्न अन्तर्राष्ट्रिय छलफल, साझेदारी र अनुभव आदानप्रदानको प्लेटफर्म प्रदान गर्नेछ।
यस वर्षको फोरम “बलियो, साहसी र उत्कृष्ट” भन्ने नारासहित आयोजना हुँदैछ, जसले समावेशी, उत्तरदायी र प्रतिरोधात्मक शिक्षाप्रणाली विकासमार्फत दिगो र न्यायपूर्ण सामाजिक–आर्थिक विकासका सम्भावनाहरूमा केन्द्रित छलफल गर्नेछ।
कार्यक्रममा मन्त्री भट्टराईले नेपालको शिक्षा क्षेत्रमा भएका सुधार प्रयासहरू, चुनौतीहरू तथा आगामी रणनीतिक योजनाहरूबारे अन्तर्राष्ट्रिय समुदायसँग जानकारी आदानप्रदान गर्नुहुनेछ। साथै नेपालले अन्य देशका सफल अभ्यासहरू अवलम्बन गर्न र सम्भावित अन्तर्राष्ट्रिय सहकार्यका अवसर पहिचान गर्न फोरम उपयोगी हुने विश्वास व्यक्त गरिएको छ।
चार दिनसम्म चल्ने फोरममा उच्चस्तरीय मन्त्रिस्तरीय बहस, थिमेटिक सेसन र नेटवर्किङ जस्ता कार्यक्रमहरू रहनेछन्। सहभागीहरूले प्रविधिको उपयोग, सार्वजनिक–निजी साझेदारी तथा शिक्षामा नवीन सोचको माध्यमबाट गुणस्तरीय शिक्षालाई प्रवर्द्धन गर्ने उपायहरूमा गहन छलफल गर्नेछन्।






