बेलायतमा शेर्पा समुदायले आफ्नो भेषभूषामा सजिएर भब्य रुपले मनाए ग्याल्पो ल्होसार (भिडियो सहित)

लन्डन । बेलायतमा रहेका शेर्पा समुदायले राष्ट्रिय पर्व तथा नयां वर्ष सिङ मो डुल लो २१५२ औं ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी भव्य रुपमा मनाएका छन्

शेर्पा संघ बेलायतले हिमाली समुदायको राष्ट्रिय पर्व तथा नयां वर्ष सिङ मो डुल लो २१५२ औं ल्होसार भव्य रुपमा मनाएको छ ।मार्च ८ तारिख शनिबार शेर्पा संघ बेलायतले लन्डन प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा विशेष सांस्कृतिक कार्यक्रमका साथ ग्याल्पो ल्होसार मनाइएको हो ।

ल्होसार मनाउन बेलायतका विभिन्न शहरबाट सयौं शेर्पा समुदाय सहभागी भएका थिए । त्यहां आफ्नो मौलिक पहिरन र गरगहनामा सजिएर आएका शेर्पाहरुको सुन्दर कला-संस्कृति झल्किएको देखिन्थ्यो ।

कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले सात समुद्रपार आएर पनि शेर्पा समुदायले आफ्नो कला, संस्कृति, चाडपर्व जीवन्त राख्नु सर्‍हानीय काम भएको बताए । यस कार्यलाई निरन्तरता दिएर दोश्रो पुस्तालाई पनि सिकाउन अपिल गर्दै राजदूत घिमिरेले आफ्नो पहिचान मेटिए पितृको पाप लाग्ने उल्लेख गरे ।


कार्यक्रम संयोजक छोङ शेर्पाले बेलायतमा पनि शेर्पा समुदायको परम्परा र संस्कृतिलाई निरन्तरता दिने अवसर र पारिवारिक भेटघाटका रुपमा ल्होसार मनाइएको बताए ।

बेलायतमा २६ वटा सुसी रेष्टुरेन्टका मालिक युवा व्यवसायी छोङले अरुलाई शिखर चढ्न सधैं सहयोगी बनेका शेर्पा जातीले अब आफू सफलताको शिखर चढ्न पनि अठोट लिनुपर्ने बताए ।

उनले कार्यक्रमका सहयोगी र सहभागी सबैप्रति आभार समेत व्यक्त गरे ।

विशेष अतिथी शेर्पा संघ बेलायतका संस्थापक अध्यक्ष तथा संरक्षक काजी शेर्पाले आफ्नो भाषा, कला संस्कृति जोगाउन र प्रवर्धन गर्न संघ स्थापना भएयता सन् २००३ देखि नै बेलायतमा ल्होसार मनाउन थालिएको स्मरण गरे । उनले बुद्ध धर्म र शिक्षा नयां पुस्तामा समेत हस्तान्तरण गर्न जरुरी रहेको बताए ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले ल्होसार शुभकामना दिंदै नेपाललाई भारतमा गाभ्न खोजिएको दावी गर्दै वंशजको नेपाली नागरिकता बचाउन बेलायतमा रहेका सबै नेपाली एकजुट हुनुपर्ने बेला आएको बताए ।


मन्तव्यका क्रममा सेचेन गुम्बाका धर्म गुरु फुर्तेम्बा शेर्पाले ल्होसार शुभकामना दिंदै आफ्नो संस्कृति, धर्म र पहिचान जहां रहेपनि जोगाइराख्नु पर्ने र दोश्रो पुस्तालाई दिनुपर्ने बताए ।

संघका अध्यक्ष रिन्जी शेर्पा लामाले शुभकामना दिंदै सन् २००३ देखि नै बेलायतमा ल्होसार मनाउन थालिएको बताए । नयाँ पुस्ताले मातृभाषा बिर्संदै गएकाले त्यो जोगाउन चुनौती रहेको पनि उनले बताए ।

अध्यक्ष शेर्पाले सहयोग गर्ने प्रायोजक, कलाकार, स्वयंसेवक, मिडिया लगायतलाई धन्यवाद पनि दिए ।ग्याल्पो ल्होसार शेर्पा भेषभूषा यस्तो देखियो (हेर्नुस भिडियो)

कार्यक्रममा महासचिव नोर्बु शेर्पाले हिमाली भूभागमा बस्ने शेर्पा जातीको धर्म, संस्कृति, परम्परा र चाडपर्व बेलायतमा समेत संरक्षण गर्न लाप्सो पूजासहित ल्होसार मनाइएको जनाए ।

कार्यक्रममा प्रथम वरिष्ठ उपाध्यक्ष नुरी शेर्पाले स्वागत मन्तव्य दिएका थिए ।

ल्होसारको औपचारिक कार्यक्रम समापनपछि दोश्रो चरणमा मिस मंगोल नेपाल सिभिरा लामाले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

सो अवसरमा बेल्जियमबाट आएका गायक सोनाम वाङ्चु शेर्पाले कयौं शेर्पा गीत सुनाए । पासाङ छिरिङले लोपोन्मुख टुङ्ना प्रस्तुत गरे । वाङचु शेर्पा र आङ लाक्पा शेर्पाले स्वागत गीत गाए ।

कार्यक्रममा स्थानीय कलाकार र स-साना बालबालिकाले स्याब्रु, टुङ्ना लगायत आधुनिक नाच प्रस्तुत गरेका थिए । सो अवसरमा बेलायती विश्वविधालयबाट शैक्षिक सफलता हासिल गरेका विधार्थीलाई सम्मान समेत गरियो ।

संघले ल्होसार मनाउनुअघि २ मार्चमा अल्डरसटस्थित बीसीसी यूके गुम्बामा ग्रह दशा शान्ति पूजा ल्हप्सो गरेको थियो।

सन् २००३ मा स्थापित संघले सन् २०२० मा कोभिडका कारण बाहेक स्थापनाकालदेखि नै वर्षेनी ल्होसार मनाउंदै आएको छ बेलायतमा झन्डै २५ सय शेर्पा जाती रहेको अनुमान छ ।

अन्त्यमा सहभागीहरु डिजे हेम विष्टको गीतसंगीतमा अबेरसम्म नाचेर रमाए ।

IMG_3926