एनआरएनए यूके पूर्व उपाध्यक्ष मोहन कार्कीको असामयिक निधन

लन्डन। एनआरएनए यूके पूर्व उपाध्यक्ष मोहन कार्कीको असामयिक निधन भएको छ।

५२ वर्षीय कार्कीको सोमबार बिहान करिब पौने सात बजे स्कटल्याण्ड फलक्रिकस्थित आफ्नै निवासमा निधन भएको एनआरएनएनए स्कटल्याण्ड अध्यक्ष दिवाकर पाण्डेले  जानकारी दिए।

स्वर्गीय कार्कीलाई केही महिनाअघि मात्रै फोक्सो (लंग्स) को क्यान्सर देखिएर उपचार गराइरहेका थिए।

कार्कीको शवलाई प्यारामेडिक टोली आएर जांच गरेको र अब अन्त्येष्टीको तयारी शुरु गरिएको अध्यक्ष पाण्डेले बताए।

स्वर्गीय कार्कीका पत्नी र एक सात वर्षीया छोरी छन्। उनको घर नेपालमा काठमाडौं कालिमाटी हो।

एनआरएनए यूकेमा दुई कार्यकाल उपाध्यक्ष रहिसकेका कार्की स्कटल्याण्ड राज्य परिषदको संस्थापक तदर्थ समितिका पनि संयोजक थिए। उनी स्थानीय फोर्थ भ्याली कम्युनिटीमा अध्यक्ष थिए।

लामो समयदेखि स्कटल्याण्ड बस्दै आएका कार्कीले रेष्टुरेन्ट, प्रपर्टीलगायत व्यवसाय संचालन गर्दै आएका थिए।

कार्कीको असामयिक निधनले स्कटल्याण्ड र बेलायतको सिंगो नेपाली समुदाय शोकमा डुबेको छ।