सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको नारी निकुञ्ज अस्ट्रेलियाले अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा मनाएको छ । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि नोरिस नेशन फाउण्डेसनसंगको सहकार्यमा २ मार्च आइतबार सिड्नी स्थित लिभरपुलमा वृहत अन्तरक्रिया सहित अन्य विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमलाई अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले दिप प्रज्वलन सहित समुद्घाटन गरेकी थिईन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेकी राजदूत यादवले महिलाहरुलाई प्रशासनिक सहितका अन्य क्षेत्रमा कार्यकारी पदमा ल्याउनुपर्ने बताईन् । उनले महिलाहरुलाई समान अवसर र नेतृत्वमा ल्याउन सके महिला अधिकार र शसक्तिकरण उल्लेख्य प्रगती हुने स्पष्ट पारिन् ।

कार्यक्रमकी अध्यक्ष एवम् नारी निकुञ्ज अस्ट्रेलियाकी संयोजक सगिंता चापागाईले उपस्थित अतिथिहरुलाई स्वागत गर्दै लामो समयदेखि संस्थाले महिलाहरुको उत्थानका लागि काम गरेको बताईन् । उनले मुख्यगरी पाठेघरको मुखको क्यान्सर, महिनावारी, प्रजजन स्वास्थ्य समस्याका बारेमा नेपालका विभिन्न ठाउँमा सचेतना जगाउने सहित सहयोगका काम गरिरहेको जानकारी दिईन् । उनले अस्ट्रेलियामा पनि विद्यार्थी र महिलाहरुलाई लक्षित गरी विभिन्न तालिम तथा कार्यक्रमहरु गरिएको स्पष्ट पारिन् ।

कार्यक्रममा एन्जाका अध्यक्ष कृष्ण तिवारीले आफ्नो संस्थाले अस्ट्रेलियामा रहेका समाजहरुलाई नियालिरहेको भन्दै त्यसमा पनि एनआरएनएको नारी निकुञ्जले गरेका सामाजिक कर्महरु प्रशसंनीय रहेको बताए । उनले नारी निकुञ्जसंग सहकार्य गरेर काम गर्न तयार रहेको प्रतिक्रिया दिए ।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नारी निकुञ्ज एनआरएनएको एउटा हात भएको र समानान्तर रुपमा काम गरिरहेको भन्दै सदैव साथ सहयोग रहने बताए ।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नारी निकुञ्ज एनआरएनएको एउटा हात भएको र समानान्तर रुपमा काम गरिरहेको भन्दै सदैव साथ सहयोग रहने बताए ।
कार्यक्रममा मनोचिकित्सक डा. घनश्याम चापागाईँ, डा. राजु अधिकारी र नोरिस नेशन फाउण्डेसनद्धारा सुरक्षित महिनावारी, सुरक्षित प्रसुती, गर्भावस्था, महिनावारी र महिला स्वास्थ्यसंग सम्बन्धित विभिन्न जानकारी र सचेतनामूलक प्रस्तुती राखिएको थियो । कार्यक्रममा लिभरपुल काउन्सिलकी काउन्सिलर फियोना म्याकनट, करिश्मा कलियान्दा, एन्जा संस्थापक अध्यक्ष हेमन्त काफ्ले,नारी निकुञ्ज संस्थापक संयोजक बबिता श्रेष्ठ, पूर्व संयोजक प्रतिज्ञा अधिकारी, सामाजिक अगुवा ईन्द्रा वन, कला संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजाता बस्नेत केसी , नारी निकुञ्ज न्यू साउथ वेल्स संयोजक सबला बस्नेत, काउन्सिलर सुकृति भट्ट एनआरएनएका पूर्व पदधिकारीहरु, सामाजिक नेता तथा व्यावसायिक लगायत विभिन्न संघसंस्था प्रमुख एबम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा नारी निकुञ्जकी संस्थापक सचिव जानकी पौडेलले लेख्नुभएको रिलेशनसीप र कोरोना कहर पुस्तकको विमोचन गरिएको थियो । नारी निकुञ्जले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट स्वंय सेवक पुरस्कार अग्रता रेग्मीलाई प्रदान गरिएको छ । कार्यक्रममा जेनिशा गौतम नेतृत्वको कलाकारहरुले नेपाली पहिरनमा सजिएर विभिन्न नेपाली संस्कृति झल्किने विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुती दिएका थिए।अन्त्यमा कार्यक्रम संयोजक एमी कार्कीले कार्यक्रमको बारेमा प्रस्ट पारीन भने नारी निकुञ्ज उपसंयोजक रत्न गौतम र सदस्य सीमाको गौतम कार्यक्रममा विशेष योगदान रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव अर्चना गौतम, र सदस्य मनीला सुवेदीले सामुहिक रुपमा गरेका थिए । 











