शिव भण्डारी
लन्डन।नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को प्रिमियर बेलायतका दर्शकमाझ प्रदर्शन गरिएको छ।
अल्डरसटको एम्पायर हलमा नेपाली चलचित्र क्षेत्रका एक चर्चित निर्देशक मिलन चाम्सको आफ्नो पछिल्लो चलचित्र ‘अञ्जिला’ को प्रिमियर शोका लागि सहभागी थिए ।प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै फिल्म निर्देशक मिलन चाम्सले आगामी दिनमा चलचित्र क्षेत्रलाई झनै राम्रो निरन्तरता दिइरहने बताए ।
चलचित्रका निर्देशक मिलन चाम्सले एञ्जिलाको विगतका छायाबाट, भविष्यका लागि गरेको सङ्घर्षसम्म रहेको बताउँदै एञ्जिलाको वास्तविक कथामा आधारित चलचित्र रहेको बताए । चाम्सले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको बताए ।
‘अञ्जिला’ को प्रिमियर शो मा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले राष्ट्रका लागि जीवन समर्पित गर्ने खेलाडीको वास्तविक कथामा निर्माण भएको चलचित्र ‘अञ्जिला’ उत्कृष्ट नेपाली चलचित्र बनेको भन्दै व्यापक चर्चा गर्नु भएको थियो।
सञ्चारकर्मी नरेश भट्टराईले संचालन गरेको कार्यक्रममा निर्देशक चाम्ससंगै चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ तथा सिर्जना सुब्बा,बिनोद अग्रवाल लगायतले ‘दर्शकहरुसंगै बसेर फिल्म हेर्न पाउँदा ज्यादै रमाइलो लागेको बताए ।
गोर्खा वारियर चलचित्रका निर्माता सुमन राई, अभिनेता रितेश चाम्स, सन्तोष सुवेदी,नायक ध्रुब दुत्तले फरक विषयवस्तु र शैलीमा बनाइएको चलचित्रले गतिलो प्रशंसा बटुलेको बताए।
नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङ,
बुद्धिजीबी शिवजी श्रेष्ठले दु:खै-दुख: बाट आएकी, आफ्नै संघर्षले बनेकी, देशको लागि खेलिरहेकि खेलाडीको जिबनीमा आधारित ‘अञ्जिला’को सन्देशले भाबुक बनेको बताए । 
नेपाली राष्ट्रिय महिला फुटबलर एञ्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा निर्माण भएको चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा छन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् ।
चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।
यस्तो छ फुटबलर एञ्जिलाको चलचित्र
एञ्जिला आफैँ प्रमुख भूमिकामा छिन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा उनका माता पिताको भूमिकामा देखिएका छन् ।पिता फुटबलको विपक्षमा र आमा पक्षमा देखिएका छन् । एञ्जिलाका पिताले ‘तेरो फुटबलले मेरो इज्जत गयो’ भनिरहँदा आमाले भने ‘मलाई विश्वास छ, तँ फर्केर आउँदा तेरो पछि भीड लाग्नेछ । र मैले छाती खोलेर ढ्याङ्ग्रो ठटाएर भन्छु कि मेरो छोरी आउँदै छे’ भनेकी छन् । टिजरमा एञ्जिलाले विद्यालयमा ‘अब फुटबल खेल्दिनँ भनेर बुबासँग पैसा मागेर ल्याएकी हुँ (शुल्क तिर्दै), मेरो ठाउँमा अरू कसैलाई खेलाउनु है’ भन्दै गरेको संवादले उनको खेलाडी बन्ने सपना पछाडिको सङ्घर्षलाई झल्काउँछ ।
राष्ट्रका लागि जीवन समर्पित गर्ने खेलाडीको वास्तविक कथामा निर्माण भएको फरक चलचित्रलाई बेलायतका दर्शकले गतिलो प्रशंसा गरेका छन्।






