सिड्नी । मानव कल्याणको निमिक्त स्थापित नेपालको एक सामाजिक संस्था मानव सेवा आश्रमको सहयोगका लागि अस्ट्रेलियामा आमा सेमिनार हुने भएको छ । प्रवासमा रहेर मातृभूमीका विभिन्न विपत्तिमा अग्रस्थानमा रहेर सहयोग गर्दै आईरहेको गोरखा समाज अस्ट्रेलियाको आयोजनामा आमा सेमिनार कार्यक्रमको आयोजना गरिएको हो ।
वि.स.२०८२ साल भित्र नेपाललाई सहयोगापेक्षी सडक मानवमुक्त नेपाल घोषणा गरि विश्वलाई नै मानवियताको देशको रुपमा परिचित गराउने उद्धेश्य सहित महाअभियानमा अघि बढि रहेको मानव सेवा आश्रममा हाल देश भरका सातवटै प्रदेशको २४ सेवा केन्द्रबाट सेवा सञ्चालन भैरहेको छ । सोही आश्रमको सहयोगार्थ उक्त कार्यक्रम आयोजना गरिएको संस्थाका महासचिव इश्वर दाहालले जानकारी दिए । कार्यक्रमले मावनता, राष्ट्रियता र परोपकारको भावना जागृत गराई विभिन्न कारणले सडकमा पुगेका मानिसहरुको उद्धार तथा पुर्नस्थापना गर्दै आईरहेको आश्रमलाई सहयोग पुर्याउने उनले बताए । संस्थाले नेपालमा देशव्यापी रुपमा यो अभियान चलाईरहेको छ । नेपालसंगै यो अभियानलाई विश्वभर रहेका नेपालीहरुमाझ पुर्याई मानवताको संदेश प्रवाह गर्ने विश्वास रहेको बताईएको छ ।
कार्यक्रममा प्रमुख आकर्षणको रुपमा मानव सेवा आश्रमका परिकल्पनाकार, केन्द्रिय अध्यक्ष एवम् उत्प्रेरणात्मक वक्ता रामजी अधिकारीको उपस्थिति रहने आयोजक गोरखा समाज अस्ट्रेलियाले जनाएको छ । कार्यक्रमलाई आ-आफ्नो ठाँउबाट सक्दो सहयोग गरि मानवताको उत्कृष्ट नमुना प्रस्तुत गर्न संस्थाका अध्यक्ष आनन्द श्रेष्ठले अष्ट्रेलियाबासी नेपाली र अन्य समुदायलाई अपिल गरेका छन् । 







